प्रहरी दिवसको अवसरमा विराटनगरमा स्वास्थ्य शिविर सम्पन्न

Share this
666shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २९, बुधबार १७:५१
प्रहरी दिवसको अवसरमा विराटनगरमा स्वास्थ्य शिविर सम्पन्न

विराटनगर । ७० औँ प्रहरी दिवसको अवसरमा बुधबार विराटनगरको विराट सामुदायिक भवनमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

नेपाल प्रहरी प्रदेश अस्पतालको आयोजनामा विराटनगर महानगरपालिका–१२ स्थित विराट सामुदायिक भवनमा निःशुल्क स्वास्थ्य परीक्षणका साथै औषधि वितरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मोरङका प्रहरी प्रमुख एसपी कबित कटुवाल, वडा नम्बर ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, १२ का वडाध्यक्ष हिरालाल कामत, वडा प्रहरी कार्यालय विराटनगर (क) का प्रहरी निरीक्षक अप्रिल चापागाईं, बखरी प्रहरी चौकीका प्रमुख प्रहरी वरिष्ठ सई प्रवीण भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

उक्त स्वास्थ्य शिविरबाट विराटनगर–११ र १२ का गरी १ सय ५० जनाभन्दा बढी बाढीपीडित तथा विपन्न नागरिकले स्वास्थ्य सेवा लिएका थिए । उनीहरूलाई स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि वितरण गरियो ।
प्रहरी अस्पताल र गोल्डेन अस्पताल विराटनगरका २४ जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले सेवा प्रदान गरेका थिए ।

त्यस्तै, प्रहरी दिवसकै अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले रक्तदान र सार्वजनिक स्थानको सरसफाइ कार्यक्रमको आयोजना गरेको थियो ।

विराट मेडिकल कलेज टिचिङ हस्पिटलसँगको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । उक्त रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेका थिए ।

विराटनगर–१२ स्थित तालिम केन्द्र चोकदेखि विराटनगर–१६ स्थित श्री शिवालय, हनुमान मन्दिर परिसर, किराँतेश्वर महादेव मन्दिर परिसरसहितको आसपासमा रहेका मुख्य तथा सहायक सडकहरू सरसफाइ गरियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.