झुम्का कारागारबाट भगाइएकामध्ये ५० जना विदेशी कैन्दीबन्दी सम्पर्कबाहिर

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ आश्विन २९, बुधबार १८:३९
झुम्का कारागारमा एक जना बन्दीको मृत्यु

विराटनगर । जेनजी आन्दोलनको आवरणमा सुनसरीको झुम्का कारागारबाट भगाइएका ठूलो संख्या कैदीबन्दी अझै सम्पर्कबाहिर रहेका छन् ।

अराजक समूहले भदौ २४ गते राति कारागारको विभिन्न ‘ब्लक’का ताला तोडेर १ हजार ७ सय ९६ जना कैदीबन्दी भगाएको थियो । त्यतिबेला कारागारमा १ हजार ७ सय ९९ जना कैदीबन्दी थिए । तीमध्ये ३ जना बिरामी भएर विभिन्न अस्पतालमा उपचाररत थिए ।

Advertisement

उपचाररतबाहेक कारागारभित्र रहेका सबै कैदीबन्दीलाई भगाइएको थियो । तीमध्ये ६ सय ७ जना हालसम्म फरार रहेको र उनीहरु कतै पनि सम्पर्कमा नगएको कारागारका जेलर सुवासकुमार लामिछानेले बताए । ‘सबै कैदीबन्दी भगाइएको थियो । तीमध्ये २ सय १० जना तत्कालै कारागार फर्किए । १ हजार ५ सय ८६ जना बाहिर थिए,’ उनले भने ।

बाहिर रहेका १ हजार ५ सय ८६ जनामध्ये ९ सय ७९ जना हालसम्म कारागार फर्किसकेको जानकारी लामिछानेले दिए । ‘फर्किएकामध्ये अधिकांश कैदीबन्दी आफैं सम्पर्कमा आएका हुन् । ४१ जना विभिन्न जिल्लाका कारागारको सम्पर्कमा पुगेका थिए,’ उनी भन्छन्, ‘केहीलाई पक्राउ गरेर पनि ल्याइएको थियो । अझैसम्म नफर्किएकाहरुको खोजी व्यापक भइरहेको छ ।’

भगाउनुअघि कारागारमा ६३ जना विदेशी कैदीबन्दी थिए । तीमध्ये २ जना भुटानी र ६१ जना भारतीय हुन् । अराजक समूहले कारागारलाई आफ्नो नियन्त्रणमा लिएर भगाउँदा विदेशी कैदीबन्दी पनि फरार भए ।

भाग्ने विदेशी कैदीबन्दीमध्ये १३ जना भारतीय सम्पर्कमा आइसकेको जानकारी लामिछानेले दिए । उनका अनुसार ५० जना विदेशी कैदीबन्दी अझै सम्पर्कबाहिर छन् । फरार रहेकामध्ये अधिकांश जबरजस्ती करणी र लागुऔषध मुद्धाका रहेको उनले बताए । त्योबाहेक कर्तव्य ज्यान, अपहरण, डाँकालगायत मुद्दाका विदेशी कैदीबन्दी फरार छन् ।

‘अदालतबाट मुद्दाको फैसला भएर अधिकांश विदेशीले कैद सजाय भुक्तान गरिरहेका थिए । केहीको मुद्दा विचाराधीन थियो,’ लामिछाने भन्छन् । फरार रहेका विदेशी कैदीबन्दीलाई पक्राउका लागि सहयोग गर्न नेपालको सुरक्षा संयन्त्रमार्फत भारतीय निकायसँग समन्वय भइरहेको उनको भनाइ छ । ‘फरार भएका सबैको विवरण पठाएर पक्राउका लागि सहजीकरण गरिदिन आग्रह गरिएको छ,’ उनले भने ।

उनका अनुसार जेनजी आन्दोलन उत्कर्षमा पुगेको भदौ २४ गते कारागारभित्रको अवस्था कारागार प्रशासनकै नियन्त्रणमा थियो । तर, रातको समयमा बाहिरबाट आएको अराजक समूहले कारागारलाई आफ्नो नियन्त्रणमा लिएर विभिन्न ‘ब्लक’का ताला फुटाउँदै सबै कैदीबन्दीलाई भगाएको लामिछानेको भनाइ छ ।

सुरक्षा संयन्त्र, पालिकादेखि सार्वजनिक निकाय सबैलाई विवरण पठाएर फरार रहेकाको खोजीका लागि सहजीकरण गरिदिन आग्रह गरिएको उनले बताए । ‘कतिपयका हकमा परिवारले पनि जानकारी दिने गरेका छन् । कतिपयलाई छिमेकीले दिएको सूचनाका आधारमा नियन्त्रणमा लिइएको छ । तर, अधिकांश आफैं सम्पर्कमा आएका हुन्,’ उनी भन्छन् ।

ठूलो संख्याका कैदीबन्दी कारागारबाट बाहिर हुँदा सुरक्षा चुनौतीसमेत बढेको छ । अपराधी स्वतन्त्र रूपले र खुलेआम हिँड्दा सर्वसाधारणले असुरक्षित महसुस गर्ने तथा उनीहरुले पीडितसँग पुनः बदला लिने सम्भावनासमेत उच्च रहन्छ । फरार भएकामध्ये अधिकांश जघन्य र गम्भीर प्रकृतिका अपराधमा संलग्नहरु रहेका छन् ।

कतिपय ठाउँमा कारागारबाट भागेका कैदीले अर्को अपराध पनि गरेका छन् । भागेका कैदीबन्दीले पुनः अपराध गर्ने सम्भावना उच्च हुने हुँदा सबैतिर सतर्कता बढाइएको कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेलले बताए । ‘खोजी तीव्र पारेर पक्राउको प्रयास भइरहेको छ । सबैतिर सतर्कता अपनाइएको छ । भागेका कैदीबन्दीलाई कतै देखेमा तत्काल प्रहरीलाई खबर गरिदिन सार्वजनिक रूपमा अपिल गरिएको छ,’ उनले भने । अपराधी जेलबाहिर हुँदा समुदायमा भय र असुरक्षाको वातावरण सिर्जना भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.