
विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ ले जेनजी आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमाथि तोडफोड र आगजनी गर्ने व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ। क्षेत्रीय सभापति देवराज तामाङको नेतृत्वमा रहेको टोलीले आज बुधबार मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवमार्फत गृहमन्त्रीलाई एक ज्ञापनपत्र पठाएको छ।
कोइराला निवासमा आगजनीप्रति आपत्ति
कांग्रेसले आन्दोलनका क्रममा विराटनगरस्थित कोइराला निवासमा समेत आगजनी गरिएकोमा घोर आपत्ति जनाएको छ। ज्ञापनपत्रमा भनिएको छ, “आन्दोलनका क्रममा योजनाबद्ध रुपमा घुसपैठ गरी नेपाली कांग्रेसका धरोहर पिताजी कृष्णप्रसाद कोइरालाबाट निर्मित महामानव वीपी कोइराला, युगपुरुष गिरिजाप्रसाद कोइराला तथा हाल नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाको निवास तथा सम्पूर्ण कांग्रेसजनको आस्थाको धरोहर कोइराला निवासमा एवं कांग्रेस केन्द्रीय कार्यालय साथै विभिन्न तहका कार्यालयहरु तथा केन्द्रीय सभापति शेरबहादुर देउवालगायत पार्टीका नेतागणहरुमाथि अराजक तथा आपराधिक तत्वहरुबाट लुटपाट, कुटपिट तथा भवनसमेतमा आगजनी गरी सोभित्र रहेका ऐतिहासिक, पौराणिक सामग्री तथा निजी सम्पत्ति पूर्ण रुपमा जली नष्ट भएकाले नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ मोरङ घोर भत्र्सना गर्दछ।”
कांग्रेसले ऐतिहासिक धरोहर नष्ट गर्ने अपराधीहरूलाई अविलम्ब पक्राउ गरी कडाभन्दा कडा कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गरेको छ।
दण्डहीनता बढ्ने खतरा
नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाले घटनामा संलग्नलाई सरकारले कारबाही गर्न नसके देशमा दण्डहीनता मौलाएर अपराधीकरण बढ्ने बताएका छन्। उनले देशमा कानुनी राज्यको जनतालाई आभास दिलाउन आगजनी र लुटपाटमा संलग्नलाई तत्काल कानुनी कठघरामा उभ्याउनुपर्नेमा जोड दिए।
क्षेत्रीय सभापति देवराज तामाङले पनि कोइराला निवाससँगै पार्टीका नेताहरूको घर तथा केन्द्रीय कार्यालयसमेत तोडफोड र आगजनी गरिएको भन्दै यी सबै घटना योजनाबद्ध रुपमा भएको र संलग्नलाई यथाशीघ्र कारबाही हुनुपर्ने माग गरे। क्षेत्रीय सचिव जितेन्द्र गोल्छाले ज्ञापनपत्र वाचन गर्दै तत्काल कारबाही गर्न माग गरेका छन्।























