
काठमाडौँ। विभिन्न सरकारी कार्यालयमा पुगेर ‘जेनजी युवा आन्दोलन’को नाममा धम्क्याउने अर्जुनबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ। शाहीसँग प्रहरी सहायक निरीक्षक (असई) को परिचयपत्र बरामद भएको प्रहरी स्रोतले जनाएको छ।
असईको परिचयपत्र भेटियो
पक्राउ परेका शाहीसँग कुमार शर्मा नामको असईको आईडी कार्ड भेटिएको हो। प्रहरीका अनुसार उक्त नाम भएका असई हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् र उनी इन्स्पेक्टरमा नाम निकालेर तालिममा जाने तयारीमा छन्। असई शर्माले भने आफ्नो कार्ड हराएको बताएका छन्। प्रहरीले शाहीलाई बुधबार कोटेश्वरबाट नियन्त्रणमा लिएको हो।
सरकारी कार्यालयमा धम्की
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाहीको टोलीले केही समययता नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयसम्म पुगेर अनुगमन र ज्ञापनपत्रका नाममा धम्की दिँदै आएको थियो।
केही दिनअघि मात्रै नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा पुगेको शाहीको टोलीले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा समेत माग गरेको थियो।
बाल्यकालमा चोरीको आरोप
प्रहरीले संकलन गरेको विवरण अनुसार, शाहीको परिवारसँग राम्रो सम्बन्ध छैन। प्रारम्भिक अनुसन्धानबाट प्रहरीले उनी कक्षा ८ मा पढ्ने बेला साविक कालिका गाविस-९ का तुला बहादुर शाहीको घरबाट ३ वटा बाख्रा चोरी भएको घटनामा संलग्न रहेको फेला पारेको छ। उक्त घटनामा संलग्न अन्य दुई जना पक्राउ परे पनि अर्जुनबहादुर भने त्यही बेला गाउँबाट भागेको प्रहरीको अनुसन्धानले देखाएको छ। शाहीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

























