
काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सार्वजनिक ओहोदाको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको आशङ्कामा तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीको नाममा रहेको चलअचल सम्पत्तिको खोजबिन थालेको छ।
विभागले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) को सम्पत्तिमाथि छानबिन सुरु गरेको हो। यसैगरी, पूर्वमन्त्रीहरू आरजु राणा र दीपक खड्का को सम्पत्तिमाथि पनि विभागले छानबिन बढाएको छ।
विभागले तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीका नातागोताको नाममा रहेको बचत, लगानी, कम्पनी र कारोबारको सम्बन्धमा विवरण सङ्कलन गरी पेस गर्नका लागि सम्बन्धित निकायहरूलाई पत्राचार गरिसकेको छ। विभागले पत्र पठाएका निकायहरूमा: नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिस्ट्रारको कार्यालय छन्।
यस्तै, जग्गाजमिनको विषयमा विवरण सङ्कलन गरी बुझाउन सम्पत्ति शुद्धीकरण विभागले हिजो (बिहीबार) भूमि व्यवस्था तथा अभिलेख विभागमा पनि पत्राचार गरिसकेको छ। सम्बद्ध निकायका अधिकारीहरूले पत्रबमोजिम विवरण सङ्कलन भइरहेको जानकारी दिएका छन्।

























