मेची राजमार्गको राजदुवाली खण्ड दुई सातादेखि ठप्प, तिहारअघि खुल्ने सम्भावना कम

Share this
684shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ३१, शुक्रबार १५:३७

 

विराटनगर । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ को राजदुवाली–इलाम सडक खण्ड पहिरोले भासिएपछि करिब दुई सातायता यातायात आवागमन ठप्प भएको छ ।

असोज १८ देखि २० गतेको भीषण वर्षाले आएको बाढी र पहिरोले यो ८०० मिटर लामो सडक खण्ड अवरुद्ध बनाएको हो।

सडक खुलाउन सडक डिभिजन इलामका कर्मचारीहरू परिचालित भए पनि भौगोलिक चुनौतीका कारण कठिनाइ भइरहेको छ। इन्जिनियर अर्जुन घिमिरेका अनुसार माटो खस्ने क्रम नरोकिएकाले सडक सञ्चालन गर्न सकिएको छैन । उनले तिहारअघि बाटो सञ्चालन हुने निश्चित नभएको बताए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले गत शनिबार प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरेका थिए । उनले सकेसम्म चाँडो सडक खुलाउन निर्देशन दिएका थिए ।

सडक अवरुद्ध हुँदा इलाम र माथिल्ला जिल्लाहरूमा सामान ढुवानी प्रभावित भएको छ भने आपतकालीन सेवाहरूले पनि वैकल्पिक बाटो प्रयोग गर्नुपरेको छ।

विज्ञहरूले पहिरो पूर्ण रूपमा रोक्न नसकिए पनि भूमिगत पानीको निकास मिलाएर, ढलान स्थिरीकरण र नाला सुधार गरेर दीर्घकालीन समाधान गर्न सकिने सुझाव दिएका छन्।

मेची राजमार्गको यो खण्ड तत्काल खुल्ने सम्भावना नभएपछि वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ। इलाम, पाँचथर र ताप्लेजुङको लाइफ लाइन मानिने यो राजमार्गको अवरोधका कारण इलाम नगरपालिका–१०, गोदकको सिमलगोलाइबाट माइबेनीको जोगमाई खोला हुँदै इलाम बजारछेउ तिल्केनी निस्किने वैकल्पिक मार्ग बिहीबारदेखि खुलेको छ। जोगमाई खोलामा डाइभर्सन बनाएर यो मार्गमा सवारीसाधन चल्न थालेका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.