
विराटनगर । नेपाली हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा मोरङको सुन्दरहरैँचा नगरपालिकामा युवाहरूको सामूहिक प्रयासले ढकमक्क फूलेको सयपत्री फूलले गाउँभर उज्यालो ल्याएको छ ।
त्यति मात्रै हैन, वरपर बास्नाले मगमगाइरहेको छ । तिहारको तयारीसँगै बजारमा फूलको माग ह्वात्तै बढ्दै गर्दा ५ जना युवाहरूले आफ्नै गाउँमा उत्पादन गरेको फूलले स्वदेशमै आत्मनिर्भर बन्न सकिने सन्देश दिइरहेको छ ।

कोशी युवा कृषि फार्मका युवाहरूले करिब १ बिघा क्षेत्रमा सयपत्री र गोदावरी फूल खेती गरेका छन् । खेतमा यतिबेला फुलका पातहरू सुन्तलाजस्ता रङमा ढकमक्क देखिन्छन्, जसले हेर्ने जोकोहीलाई तिहारको सुगन्ध महसुस गराउँछ ।
फार्मका सञ्चालक विजय ओझा भन्छन्, ‘हामीले बिरुवा आफैं उत्पादन गरेका हौँ । यो राम्रो प्रजातिको सयपत्री हो । माग अहिले अत्यधिक छ । तिहार सुरु हुनुअघि नै धेरैजसो फूल बिक्री भइसकेका छन् ।’

अर्का सञ्चालक मिलन लुइँटेलका अनुसार युवाहरूको समूहले करिब ८ बिघा जमिनमा समग्र कृषि फार्म सञ्चालन गरिरहेको छ । त्योमध्ये करिब १ बिघामा फूलखेती गरिएको हो । उनी भन्छन्, ‘युवाहरू विदेश नगइकन स्वदेशमै केही गर्न सक्छन् भन्ने हामीले देखाउन चाहेका हौँ फूल खेती हाम्रो आत्मनिर्भरता र गर्वको प्रतीक हो ।’
लुइँटेलका अनुसार फूल किन्नलाई दैनिक ठूलो संख्यामा आउने गरेका छन् । कोही फोटो खिच्न, कोही फूल किन्न रकोही दृश्य मात्रै हेर्न आउँछन् । उनले भने, ‘भारतीय बजारमा निर्भर हुनुपर्ने परम्परालाई केही हदसम्म तोड्न सफल भएकोमा हामी खुसी छौं । नेपाली फूलले नेपाली तिहार सिंगारोस् भन्ने हाम्रो उद्देश्य हो ।’

फूल खेतको सौन्दर्यले अहिले सुन्दरहरैँचाको स्थानीय पर्यटन पनि बढाएको छ । गाउँका विद्यालयका विद्यार्थीदेखि सहरका युवासम्म त्यहाँ पुगेर तस्बिर लिने, भिडियो बनाउने र सामाजिक सञ्जालमा सेयर गर्ने लहर चलेको छ । यसले गाउँको पहिचान बदलिएको स्थानीय बासिन्दाको भनाइ छ ।
तिहारका बेला नेपालको विभिन्न भागमा सयपत्री र मखमली फूलको आयात भारतबाट हुने गर्छ । तर, कोशी युवा कृषि फार्मका युवाहरूले देखाएको समर्पणले निर्भरता घटाउने आशा जगाएको छ ।

फार्मका सञ्चालक ओझा भन्छन्, ‘हामीले सुरुमा जोखिम लिएर काम गरेका हौँ । तर, सफलता मिलेको छ । ढकमक्क फूल फुलाउन सफल भएका छौं । कृषिलाई व्यवसायिक बनाउन युवाहरू अघि सर्न जरुरी छ ।’ फूल खेतीको सुगन्धसँगै युवाहरूको उत्साहले सुन्दरहरैँचामा पहिले नै तिहार आएको अनुभूति हुन्छ ।
बारीमा फैलिएको सुन्तलामय रंगले गाउँलाई बत्तीझैँ झिलिमिली बनाएको छ । यो दृश्य हर्ने जोकोहीले तिहार साँच्चै आइपुगिसकेको अनुभूति गर्छन् ।






























