
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचन भयरहित, स्वतन्त्र, स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गर्नका लागि ‘बोल्ड्ली’ रुपमा प्रस्तुत हुन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।
राष्ट्रपति भवन शितल निवासमा शनिबार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्री तथा चारवटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा भएको छलफलमा राष्ट्रपति पौडेलले यस्तो निर्देशन दिएका हुन्।
राष्ट्रपति पौडेलले राजनीतिक दल र आम नागरिकमा निर्वाचनप्रति पूर्ण विश्वास दिलाउन सरकार र सुरक्षा निकायले विशेष ध्यान दिनुपर्ने बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। यस क्रममा राष्ट्रपति पौडेलले भदौ २४ गते लुटिएका हतियार र भागेका कैदीबन्दीहरूलाई अविलम्ब फिर्ता गर्न समेत आग्रह गरेका छन्।
छलफलमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन सरकारले कुनै कमी बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले सम्पूर्ण तयारीसाथ लाग्न र सुरक्षा निकायलाई चाहिने सम्पूर्ण साधन स्रोत सरकारले तत्काल उपलब्ध गराउने आश्वासन दिइन्।
सुरक्षा निकायका प्रमुखहरूले भने शान्ति सुरक्षा कायम गर्दै निर्वाचन सम्पन्न गराउन आफूहरू पूर्ण रूपमा तयार रहेको बताएका छन्। उनीहरूले विगतमा यसभन्दा कठिन परिस्थितिमा समेत शान्तिपूर्वक निर्वाचन सम्पन्न गराएको स्मरण गराउँदै यस पटक पनि निर्वाचन सफलताका साथ सम्पन्न हुने विश्वास व्यक्त गरे।
छलफलमा प्रधानमन्त्री कार्की, अर्थमन्त्रीबाहेक सबै मन्त्रीहरूका साथै प्रधानसेनापति अशोक सिग्देल, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की को सहभागिता रहेको थियो।

























