
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले तिहार र छठ पर्वलाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउन सबैमा आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कानुन, मौलिक परम्परा र सामाजिक अनुशासनको पालना गर्दै आपसी सद्भाव, सहयोग र एकताको वातावरणमा पर्व मनाउन अनुरोध गरेका हुन् । तिहार र छठजस्ता चाडपर्वले नेपाली समाजमा पारस्परिक एकता, मित्रता र सौहार्द बढाउने अवसर प्रदान गर्ने भएकाले यस्ता पर्व हर्षोल्लासका साथ सुरक्षित ढंगले मनाउनुपर्नेमा प्रशासनको जोड छ ।
चाडबाडको समयमा विभिन्न अवैध क्रियाकलाप रोक्न प्रशासनले निर्देशन जारी गरेको छ । ‘भुइँचम्पा, आतसबाजी, पटका, प्लास्टिकजन्य फूलमाला तथा विस्फोटक वस्तुहरूको अवैध आयात, ओसारपसार, भण्डारण, बिक्री वितरण वा प्रयोग नगर्नु हुन अनुरोध छ । यस्ता कार्य कानुनी रूपमा निषेधित छन्,’ प्रशासनले भनेको छ । साथै, देउसी, भैलो, नाचगान लगायतका कार्यक्रमहरू राति १० बजेसम्म सीमित गरेर समयभित्र मर्यादित ढंगले सम्पन्न गर्न आग्रह प्रशासनको आग्रह छ ।
मैनबत्ती, दियो र विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउनुपर्ने सुझाव पनि प्रशासनले दिएको छ । धार्मिक, जातीय वा सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि नगर्न र मनोरञ्जनको नाममा चिट्टा, जुवातास, कौडा, सट्टेबाजीजस्ता अवैध कार्यहरू गर्नेलाई कानुनी कारबाही गरिने प्रजिअ यादवले बताए ।
सवारी चालकहरूलाई मादक पदार्थ सेवन (मापसे) गरी सवारी नचलाउन, सवारीसाधनमा क्षमता भन्दा बढी यात्रु नबोक्न, तोकिएको भन्दा बढी भाडा नलिन तथा ट्राफिक नियमको पूर्ण पालना गर्न प्रशासनले निर्देशन दिएको छ । यात्रुहरूले कुनै गुनासो वा सहयोग आवश्यक परेमा नजिकैको प्रहरी युनिट वा यात्रु सहायता कक्षमा सम्पर्क गर्न सक्ने यादवको भनाइ छ ।
उनका अनुसार सार्वजनिक स्थलहरूमा भिडभाड, होहल्ला र हुलदंगा नगरी सभ्य एवं मर्यादित ढंगले चाडबाड मनाउन सबैलाई अनुरोध गरिएको छ । त्यस्तै, चोरी, डकैती र अन्य आपराधिक क्रियाकलापबाट बच्न घर तथा सम्पत्तिको सुरक्षामा विशेष ध्यान दिन प्रशासनको आग्रह छ ।
चाडबाडका दिनहरूमा आपूर्ति, स्वास्थ्य, खानेपानी, विद्युत, टेलिकम लगायत अत्यावश्यक सेवा अवरुद्ध नहुने गरी सबै सम्बद्ध निकायहरूलाई तयारी अवस्थामा राख्न पनि प्रशासनले निर्देशन दिएको छ । स्वास्थ्यकर्मी, एम्बुलेन्स, स्काभेटर, सवारीसाधन तथा इन्धन आपूर्तिकर्ता निकायहरूलाई आवश्यक पूर्वतयारी मिलाउन भनिएको छ ।
कसैले पनि प्रशासनको निर्देशनविपरीतका गतिविधि गरेमा सुरक्षा निकायलाई जानकारी गराउनुपर्ने प्रशासनले स्पष्ट पारेको छ । त्यस्ता कार्यमा संलग्न व्यक्ति वा समूहमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने प्रजिअ यादव बताउँछन् । ‘सांस्कृतिक र धार्मिक महत्व बोकेका चाडपर्वहरू हामी सबैले सद्भाव, आपसी सम्मान र सामाजिक उत्तरदायित्वका साथ मनाउँदा मात्र यसको वास्तविक उद्देश्य पूरा हुन्छ,’ उनले भने ।
























