विराट टिचिङका नर्स आन्दोलित, बिरामी मर्कामा

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कार्तिक १, शनिबार १७:४१

विराटनगर । मोरङको बुढीगंगास्थित टंकीसिनवारीमा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पितलका नर्स र स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् ।

सेवा सुविधा वृद्धिलगायतका माग राख्दै शनिबारदेखि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । हस्पिटलका नर्स र स्वास्थ्यकर्मीलाई सरकारले तोकेको न्यूनतम तलब, सेवा सुविधाहरु उपलब्ध नगराएको भन्दै आन्दोलनमा उत्रनु परेको उनीहरुले बताएका छन् ।

आन्दोलनमा आउनुअघि अस्पताल प्रशासनलाई सरकारले तोकेको सेवा सुविधालगायतका बारेमा सम्बोधन गर्न भने पनि अस्पताल प्रशासनले बेवास्ता गरेपछि आन्दोलन गर्नुपरेको आन्दोलनरत एक नर्सले बताइन् । सरकारले तोके अनुसारको तलब, सेवा सुविधा हस्पिटलले उपलब्ध गराउनु पर्ने बताउँदै उनले भनिन्, ‘आईसीयूमा १ बराबर १ बिरामी हेर्नुपर्नेमा १ जनाले ३ जनासम्म बिरामी हेर्नु परेको छ । प्रशासनले हेपायती प्रवृत्तिबाट काममा लगाएको छ । हाम्रो मागलाई हस्पिटल प्रशासनले बेवास्ता गर्यो भने योभन्दा अझ कडा आन्दोलन हुनेछ । माग पूरा नभएसम्म सेवा प्रभावित हुनेछ ।’

‘आन्दोलनरत नर्सहरुले न्याय देऊ नत्र सडकमै सेवा दिने छौं । नर्सको सम्मान गर, मूल्यको सम्मान गर । सेवामा शिर झुक्दैन, अन्यायमा घुँडा टेक्दैन’जस्ता लेखिएको प्लेकार्ड लिएर नाराबाजी गरेका थिए । आन्दोलनका कारण बिरामी भने मर्कामा परेका छन् । उपचारका लागि आएका बिरामीले सहज सेवा पाउन नसकेका हुन् ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत डेनिस कार्कीले कसैलाई पनि श्रम शोषण नगरेको र हस्पिटलको क्षमताअनुसारको सेवा सुविधा उपलब्ध गराउँदै आएको बताए । उनले भने, ‘उहाँहरुले उठाउनु भएको माग सबै हामीले पूरा गर्न नसक्ने र समस्या समाधानका लागि सरकारसँग छलफल गर्नपर्छ । मागका सम्बन्धमा सरकारसँग वार्ता गर्न तयार छौं । हामीले १ बराबर १ बिरामी हेरिरहेका छौं । विराटबाहेक अन्य कुनै अस्पतालले गरेका छैनन् । बिरामीको उपचार गर्न छाडेर आन्दोलनमा आउन हुँदैन ।’

सबैले आआफ्नो कर्तव्य बिर्सेर नहुने बताउँदै हस्पिटलका अध्यक्ष ज्ञानेन्द्रमानसिंह कार्कीले भने, ‘अस्पताल जस्तो संवेदशील क्षेत्रका कसैले पनि बिरामी छाडेर बाहिर निस्कन मिल्दैन । ड्युटी हुनेले ड्उटी गर्ने अरुले धर्नामा बस्ने हो । तर, उहाँहरुलाई मैले धर्नामा बस्न पर्दैन आफै संवेदनशील छु भनेको थिएँ । आफैं काठमाडौं गएर सरकारसँग यस विषयमा छलफल गर्ने छु । उनीहरुले पाउने रकम पाउनुपर्छ । तर, राज्यले स्पष्ट कानुन बनाएर नर्सहरुको तलब, सेवासुविधा तोकिदिए दिनलाई तयार छौं । राज्यभन्दा ठूलो कोही हुँदैन र राज्यले बनाएको नीति नियम सबैले मान्नुपर्छ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×