
काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठक आज (आइतबार) बस्दै छ । गृहमन्त्री ओमप्रकाश अर्यालले बोलाएको उक्त बैठकमा निर्वाचन सुरक्षासम्बन्धी एकीकृत योजनामाथि समीक्षा र नीतिगत निर्देशन दिइनेछ ।
गृहमन्त्री अध्यक्ष रहने यस समितिमा गृह र रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहनेछ । गृह मन्त्रालयले शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका प्रमुख एवं सहसचिव आनन्द काफ्लेको नेतृत्वमा एकीकृत निर्वाचन सुरक्षा समिति गठन गरेको थियो । गृहमन्त्री अर्यालले कार्यभार सम्हालेलगत्तै गठन गरेको यो समितिमा चारवटै सुरक्षा निकायका प्रतिनिधिहरू सदस्य छन् ।
यो समितिले तयार पारेको सुरक्षा योजना कार्यान्वयनका लागि प्रत्येक जिल्लामा पठाइनेछ, जसको नेतृत्व प्रमुख जिल्ला अधिकारीले गर्ने जिल्ला एकीकृत निर्वाचन सुरक्षा समितिले गर्नेछ । गृहमन्त्री अर्यालले निर्वाचनको तयारी पूर्ण क्षमताका साथ भइरहेको जानकारी दिएका छन् ।
उनले भने, ‘एकीकृत निर्वाचन सुरक्षा योजना तीव्र गतिमा बन्दै छ र निर्वाचन आयोगसँग पनि सघन छलफल र समन्वय भइरहेको छ । सुरक्षा निकायहरूलाई आवश्यक स्रोतसाधनको कुनै कमी नहुने गरी काम भइरहेको छ ।’

























