तिहारमा लोडसेडिङ नहुने, ढुक्क भएर बत्ती बाल्न प्राधिकरणको आग्रह

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २, आइतबार ११:५८

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको उज्यालो पर्व तिहारमा देशभर लोडसेडिङ नहुने स्पष्ट पारेको छ । प्राधिकरणले आम उपभोक्तालाई ढुक्कसँग जति पनि बत्ती बालेर चाड मनाउन आग्रह गरेको छ।

प्राधिकरणका अनुसार तिहारको समयमा उद्योगधन्दाहरू बन्द हुने भएकाले औद्योगिक क्षेत्रमा खपत हुने ठूलो परिमाणको बिजुली स्वतः बचत हुन्छ। उक्त बचत भएको बिजुली घरायसी प्रयोजनका लागि सहजै उपलब्ध गराइनेछ।

लोड घट्ने, माग धान्न सकिने

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार तिहारमा विद्युत् आपूर्तिमा कुनै समस्या हुँदैन। उनले भने, ‘पहिले लक्ष्मी पूजामा सबैभन्दा बढी लोड हुन्छ भन्ने बुझाइ थियो, तर उद्योगहरू बन्द हुँदा समग्र प्रणालीमा लोड घट्छ। अहिले विद्युत् खेर जाने अवस्था छ, त्यसैले जति पनि प्रयोग गर्न सक्नुहुन्छ।’

तिहारमा उद्योगहरू बन्द हुँदा दैनिक करिब २०० देखि ३०० मेगावाटसम्म बिजुली बचत हुनेछ, जसलाई सिधै घरायसी उपभोक्तालाई उपलब्ध गराइनेछ। यसले गर्दा बत्तीको माग बढे पनि आपूर्तिमा कुनै कमी हुनेछैन। प्रवक्ता ढकालले प्राविधिक समस्याबाहेक अन्य कारणले बत्ती नजानेमा ढुक्क हुन आग्रह गरेका छन्।

विद्युत् आपूर्तिमा कुनै पनि किसिमको प्राविधिक गडबडी आउन नदिन प्राधिकरणले कर्मचारीहरूलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ। कुनै स्थानमा फल्ट आएमा तत्काल समाधान गर्न विशेष टोलीहरू तयारी अवस्थामा राखिएको छ।

विगतका वर्षहरूमा तिहारको समयमा विद्युत् माग अधिकतम १६ सय मेगावाटसम्म पुग्ने गरेको थियो। यस वर्ष पनि सोही हाराहारीमा माग रहने अनुमान छ। सामान्यतया तिहारमा साँझ ६ बजेदेखि ९ बजेसम्मको समयमा विद्युत् खपत ३० देखि ४० प्रतिशतसम्म बढ्ने गर्छ। प्राधिकरणले नयाँ प्रसारण लाइन विस्तार, सबस्टेसनको स्तरोन्नति र पूर्वाधार थप्ने कामलाई निरन्तरता दिएकाले पनि यस वर्ष आपूर्ति थप भरपर्दो हुने विश्वास दिलाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.