दुई महिनापछि खुल्यो खाँदबारी-किमाथाङ्का सडक

Share this
653shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २, आइतबार १२:०५

संखुवासभा । लगातार अवरुद्ध हुँदै आएको कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्ड दुई महिनापछि सञ्चालनमा आएको छ । भोटखोला गाउँपालिकाको समटार र अल्फाटे क्षेत्रमा भदौ १५ गते गएको ठूला पहिरोका कारण यो सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।

लामो समयको प्रयासपछि शुक्रबारबाट सडक पुनः सञ्चालनमा आएको उत्तर दक्षिण कोशी सडक योजनाले जनाएको छ । आयोजना प्रमुख रामबहादुर गुरुङका अनुसार स्थानीयवासी, निर्माण व्यवसायी र आयोजनाको संयुक्त प्रयासमा सडक खोल्न सफल भएको हो। भोटखोला क्षेत्रको कठिन भूभाग र लगातारको वर्षाका कारण मर्मतको काममा ढिलाइ भएको थियो।

‘निरन्तर प्रयासपछि सडक खुलाउन सफल भएका छौँ,’ गुरुङले भने, ‘सडकमा ढुङ्गा सोलिङ र ग्राभेलिङ सम्पन्न गरी अहिले एकतर्फी यातायात सञ्चालन गरिएको छ।’ सडक खुलेपछि वरुण नदीमा बनेको पक्की पुलबाट सवारीसाधन सञ्चालन भएका छन्। अब खाँदबारीदेखि भोटखोला हटियासम्म र थोगाङ खोलासम्म सवारी साधन सञ्चालन गर्न सकिने गुरुङले बताए।

लामो समयदेखि सडक बन्द हुँदा भोटखोला, मकालुलगायतका दुर्गम क्षेत्रका बासिन्दा बजार आपूर्ति र आवतजावतमा ठूलो कठिनाइ झेल्दै आएका थिए। सडक खुलेसँगै दैनिक उपभोगका वस्तु, औषधि र निर्माण सामग्रीको आपूर्ति सहज हुने र स्थानीयले स्वास्थ्य, शिक्षा तथा प्रशासनिक सेवामा पहुँच पाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.