
काठमाडौँ । स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव संगीता कौशल मिश्राविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले आइतबार मिश्रासहित १५ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनीहरुमाथि स्वास्थ्य उपकरण खरिदमा अनियमितता गरेको आरोप छ।
आयोगका अनुसार मिश्रासहितका प्रतिवादीहरूले स्वास्थ्य उपकरण खरिदमा घोटाला गरेको ठहर गर्दै १४ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ।
यो मुद्दा मिश्रा स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा गरिएको खरिद प्रक्रियासँग सम्बन्धित रहेको आयोगले जनाएको छ। केही साताअघि जेनजीको सरकारमा स्वास्थ्य मन्त्री बन्ने चर्चामा रहेकी मिश्राविरुद्ध अख्तियारको अनुसन्धान चलिरहेको जानकारी आएपछि उनको नियुक्ति रोकिएको थियो र त्यसपछि उनले आफ्नो पदबाट राजीनामा दिएकी थिइन्।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार दोषी ठहर भएका प्रतिवादीहरूलाई बिगोबमोजिम जरिवाना र कैद सजायको मागदाबी गरेको छ।

























