
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनको मुख्य उद्देश्य सरकार परिवर्तन नभएको स्पष्ट पारेका छन् ।
आइतबार राजधानीमा सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले जेनजी आन्दोलनले उठाएका मागहरूलाई सही र न्यायोचित ठहर गर्दै आफू ती उद्देश्यहरूप्रति प्रतिबद्ध रहेको बताए ।
‘यो अहंकारको कुरा होइन, सत्य बोल्ने मेरो बानी हो,’ ओलीले भने, ‘जेनजीहरूले विरोध प्रदर्शनका लागि तयारी गरेका थिए, तर उनीहरूका खुला तीन वटा माग मात्रै थिए- भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र सामाजिक सञ्जाल खुला राखिनुपर्छ भन्ने ।’
उनका अनुसार, ती मागहरू राष्ट्रिय हितसँग मेल खाने र देशलाई सुधारको दिशामा लैजाने खालका थिए। ओलीले थपे, ‘उनीहरूले प्रधानमन्त्रीको राजीनामा मागेका थिएनन् । म तिनै तीन कुराका लागि लडिरहेको थिएँ ।’
पूर्वप्रधानमन्त्री ओलीले आफू सामाजिक सञ्जाल बन्द गर्ने नभई त्यसलाई उत्तरदायी रूपमा सञ्चालन गरिनुपर्ने पक्षमा रहेको पनि पुनः दोहोर्याए ।

























