
विराटनगर । जबरजस्ती करणीको मुद्दामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा संखुवासभा खाँदबारी–८ का २७ वर्षीय विवेक विश्वकर्मा रहेका छन्।
उनी भदौ २३ र २४ गते देशभर चलेको ‘जेनजी आन्दोलन’ को मौका छोपी ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका थिए। त्यसयता विश्वकर्मा लुकीछिपी बस्दै आएको खुलेको थियो।
जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको विशेष टोलीले गोप्य सूचनाका आधारमा आइतबार उनलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी कुमारप्रसाद मैनालीका अनुसार विश्वकर्मालाई कार्यालयबाट करिब डेढ किलोमिटर टाढाबाट नियन्त्रणमा लिइएको थियो।
डीएसपी मैनालीले फरार अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको र कारागार प्रशासनसँग समन्वय गरी उनलाई पुनः नख्खु कारागार पठाइने बताए। विश्वकर्मा अदालतबाट दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका थिए। प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।























