
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा सञ्चालनमा रहेको बहुराष्ट्रिय कम्पनी आरती स्ट्रीप्स प्रा.लि. २३ वर्षसम्म सञ्चालन भएर नेपालबाट फिर्ता जाँदैछ ।
सन् २००१ मा करिब ७ अर्ब रुपैयाँ (७ सय करोड)लागतमा स्थापना भएको यो उद्योगले निरन्तर घाटा व्यहोर्दै आएको छ । अहिले आएर उत्पादन नै बन्द गर्ने निर्णय लिइएको हो ।
आरती स्ट्रीप्सले सन् २००२ देखि सादा तथा रंगिन जस्ता, कर्कटपाता र पोल पाइप उत्पादन गर्दै आएको थियो । भारत र नेपालमा बिक्री हुने यी सामग्रीहरूमध्ये करिब ९० प्रतिशत उत्पादन भारत निर्यात हुँदै आएको थियो ।
तर, भारत सरकारले हालै लागू गरेको नयाँ नीतिले उद्योग बन्द हुने अवस्थामा पुगेको छ । विदेशी कच्चा पदार्थबाट उत्पादित सामग्रीलाई गुणस्तर प्रमाणपत्र नदिने भारतको निर्णयपछि आरती स्ट्रीप्सको उत्पादन ठप्प भएको हो ।
भारतको ब्युरो अफ स्ट्यान्डर्ड्स (बीएसआई)ले अबदेखि भारतमै उत्पादित कच्चा पदार्थबाट बनेका सामग्रीलाई मात्र प्रमाणीकरण दिने नीति ल्याएको छ । आरती स्ट्रीप्सले नेपालस्थित उद्योगमा प्रयोग हुने कच्चा पदार्थ चीन र भारत दुवै देशबाट आयात गर्दै आएको थियो । चीनबाट ल्याइएका कच्चा पदार्थबाट बनेका सामग्रीलाई बीएसआईले अस्वीकृत गरेपछि उद्योगले निर्यात गर्न नसक्ने स्थिति सिर्जना भएको हो ।
उद्योगका अनुसार भारतमा निकासी अवरुद्ध भएपछि २ महिनादेखि आयातनिर्यात पूर्ण रूपमा रोकिएको छ । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठका अनुसार आरती स्ट्रीप्सको उत्पादन, आयात र निर्यात सबै स्थगित भइसकेको छ । ‘उद्योगको व्यापारिक क्रियाकलाप अहिले पूर्ण रूपमा बन्द छ,’ उनले भने ।
उद्योगले त्यहाँ कार्यरत हजारौं मजदुरमध्ये ठूलो संख्यामा श्रमिक कटौती गरिसकिएको छ । श्रम तथा रोजगार विभागलाई पनि यसबारे जानकारी दिइएको बताइएको छ । उत्पादन र बजार दुवै ठप्प भएपछि कम्पनीले नेपालबाट सम्पूर्ण लगानी फिर्ता लिने तयारी गरेको हो । स्रोतका अनुसार केही दिनभित्रै उद्योग परिसरमा रहेका मेसिनरी, पार्टपुर्जा र अन्य सामग्री हटाउने तयारी भइरहेको छ ।
आरती स्ट्रीप्सले आर्थिक वर्ष २०८०–८१ मा १४ अर्ब ५४ करोड रुपैयाँ बराबरको सामग्री बिक्री गरेको थियो । जसमा ७ अर्ब ३७ करोड रुपैयाँको सामान भारत निर्यात गरिएको थियो । सो वर्ष उद्योगले २० अर्ब रुपैयाँको बिक्री लक्ष्य राखेको थियो । तर, भारतको नीति परिवर्तन र नेपाल सरकारले उद्योगमैत्री बजेट नल्याएपछि कम्पनीको विस्तार योजनासमेत स्थगित भएको हो ।
कम्पनीले यसअघि दण्डी उद्योग (स्टील रड) उत्पादनका लागि ठूलो लगानी गर्ने तयारी गरेको थियो । तर, सरकारले आर्थिक वर्ष २०८२–८३ का लागि उद्योगमैत्री बजेट निर्माण नगरेपछि आरती स्ट्रीप्सले नयाँ परियोजना स्थगित गर्यो ।
स्थानीय स्रोतका अनुसार आरती स्ट्रीप्सले उद्योग सञ्चालनको सुरुवाती वर्षहरूमा राम्रो उत्पादन र नाफा कमाए पनि पछिल्ला केही वर्षदेखि लगातार घाटामा थियो । भारतको नीतिगत कडाइ र चीनबाट आयातित कच्चा पदार्थको गुणस्तर विवादले अन्ततः कम्पनीलाई उत्पादन बन्द गर्न बाध्य बनाएको हो ।
बुढीगंगामा रहेको उद्योगले २ दशकभन्दा बढी समयदेखि स्थानीय तहमा ठूलो संख्यामा रोजगारी सिर्जना गरेको थियो । उद्योग बन्द हुने भएपछि सयौं नेपाली श्रमिक बेरोजगार हुने खतरा बढेको छ । उद्योगले नेपाल सरकारलाई कर, भन्सार र रोजगारका माध्यमबाट उल्लेखनीय योगदान पुर्याउँदै आएको थियो ।
हालसम्म कम्पनीले औपचारिक रूपमा नेपाल सरकारलाई फिर्ता जाने निर्णयबारे जानकारी दिएको छैन । तर, उच्च स्रोतका अनुसार कम्पनीले नेपालस्थित सम्पूर्ण लगानी समेटेर भारत फिर्ता जाने अन्तिम तयारी गरिरहेको हो ।
आरती स्ट्रीप्सको प्रस्थानसँगै नेपालमा विदेशी लगानी आकर्षित गर्ने वातावरणमाथि पुनः प्रश्न उठेको छ । निजी क्षेत्रका विज्ञहरू भन्छन्, ‘नीतिगत अस्थिरता, बजेटीय उदासीनता र छिमेकी मुलुकको कडाइले गर्दा यस्तो अवस्था आएको हो । नेपालले अब उद्योगमैत्री नीति र दीर्घकालीन लगानी सुरक्षाको भरोसा नदिएसम्म बहुराष्ट्रिय कम्पनीहरू टिक्न सक्दैनन् ।’
२३ वर्षसम्म मोरङको औद्योगिक भूगोलमा सक्रिय रहेको आरती स्ट्रीप्सको बन्दले पूर्वी नेपालको औद्योगिक भविष्यमाथि गम्भीर प्रश्न उठाएको छ । उद्योगीहरूले आरती स्ट्रीप्सजस्तै ठूला लगानीकर्ता पलायन हुँदै गए नेपालमा औद्योगिक पुनर्जागरणको सपना झन् टाढिँदै जाने बताएका छन् ।

























