
काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले देश छाडेर भागेको दाबी गरेको भोलिपल्टै निवर्तमान ऊर्जामन्त्री दीपक खड्का भने स्वदेशमै रहेको पाइएको छ।
गृहमन्त्रीले भागेको बताएको एक दिनपछि नेपाली कांग्रेसका नेता खड्का सोमबार काठमाडौंस्थित आफ्नै निवासबाट सार्वजनिक भएका हुन्। जेनजी आन्दोलनको क्रममा उनको उक्त निवास जलाइएको थियो।
गृहमन्त्री अर्यालले ‘नयाँ पत्रिका’ दैनिकलाई दिएको अन्तर्वार्तामा खड्का देश छाडेर भागिसकेको दाबी गरेका थिए। गृहमन्त्रीको भनाइ थियो, ‘ठुल्ठूला नेताहरूमाथि छानबिन सुरु भएको छ, कसै-कसैको भागाभागसमेत भएको छ। तत्कालीन ऊर्जामन्त्री भागिसके। भाग्न खोज्ने अरूलाई रोक्नेबारे हामी अध्ययन गर्दैछौं।’
तर, गृहमन्त्रीको दाबीलाई खण्डन गर्दै खड्काले काठमाडौंमा रहेको आफ्नो जलेको घरबाट भिडियोमार्फत् आफू स्वदेशमै रहेको जानकारी दिएका छन्।

























