
विराटनगर । विराटनगर र आसपासका क्षेत्रमा सयपत्री फूलको मूल्य ह्वात्तै बढेको छ । केही दिनअघिसम्म सामान्य मूल्यमा पाइने सयपत्री मालाको मूल्य तिहारका कारण दोब्बरभन्दा बढी पुगेको छ । स्थानीय उत्पादन कम र भारतीय आयातमा सरकारले रोक लगाएका कारण मूल्यवृद्धि भएको व्यवसायीहरू बताउँछन् ।
नेपालमा व्यावसायिक रूपमा फूल खेती कमै हुने भएकाले बजार भारतमा निर्भर छ । मोरङलगायत केही पहाडी क्षेत्रमा खेती सुरु भए पनि यहाँको उत्पादनले स्थानीय मागलाई थेग्न सकेको छैन ।
वर्षा र बाढीको क्षति
यस वर्ष फूल फुल्ने समयमा आएको लगातारको वर्षा र बाढीका कारण स्थानीय फूल खेतबारीमै कुहिएका छन् । स्थानीय किसान रतन जानाका अनुसार, गत वर्ष ४०/५० रुपैयाँमा बिकेको माला यसपटक १५० सम्ममा बिक्री भएको छ । उनले ५ लाख रुपैयाँसम्मको घाटा व्यहोरेको बताए ।
सरकारले भारतबाट प्राकृतिक र प्लाष्टिकका फूल आयातमा रोक लगाएको छ । यसले गर्दा बजारमा अभाव सिर्जना भएको छ । सरकारले रोक लगाए पनि सीमा क्षेत्रमा भन्सार शुल्क नलाग्ने र सुरक्षाकर्मीको मिलेमतोमा चोरी तस्करीमार्फत भारतीय फूलहरू बजारमा छ्यापछ्याप्ती बिक्री भइरहेका छन् ।
एक फूल व्यापारीका अनुसार भन्सारबाट वैध तरिकाले ल्याउन नपाएपछि जोखिम मोलेर थोरै-थोरै मात्रामा फूल तस्करी गर्नु पर्ने र प्रहरीले समाते लगानी डुब्ने डरले मूल्य महँगो भएको हो ।
बजार अनुगमनमा कमजोरी
चाडपर्व लक्षित बजार अनुगमन गर्ने सरकारी निकायले यस वर्ष अनुगमन नगर्दा सरकारले बन्देज लगाएका वस्तुहरू सहजै बिक्री भइरहेका छन् ।
मोरङको सुन्दरहरैँचा, कटहरी, र विराटनगरमा व्यावसायिक फूल खेतीको प्रयास भए पनि उत्पादन सन्तोषजनक छैन । विराटनगर-६ केसलिया खोला नजिकै ८ बिघा जग्गामा विगत १० वर्षदेखि व्यावसायिक खेती गर्दै आएका रतन जानालाई भने सामान्य अवस्थामा आफ्नै उत्पादनले पुग्ने गरेको छ ।
विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहले सरकारले बन्देज गरेका कुनै पनि वस्तु भन्सार हुँदै आयात नभएको दाबी गरेका छन् ।























