
विराटनगर । यतिबेला मुलुकभर तिहारको उज्यालो फैलिएको छ । देउसी भैलो खेल्नेहरुको लर्को लागिरहेको छ । दीप, फूल र देउसी एवं भैलो गीतको संगम मानिने उज्यालो पर्व तिहारमा महिला र बालबालिकाको उत्साह एवं उल्लासले थप चमक थपिदियो ।
लक्ष्मीपूजाको राति महिला तथा बालिकाहरुको सक्रियताले कोशी प्रदेशको राजधानी विराटनगरसहित अधिकांश स्थान भैलोमय बन्यो । सहरका गल्ली, टोल र घरआँगनहरू दीपमालाले झलमलाइरहँदा भैलो गुञ्जिनुले तिहारको रौनक थपिदिएको छ ।
सोमबार साँझ पर्नासाथ ठाउँठाउँमा सुनिएको ‘भैलो ओ भैलो’को सुमधुर आवाजले विराटनगरलाई उज्यालो मात्र नभएर उत्सव र उल्लासको सहरमा रूपान्तरण गरिदियो । विराटनगरसहित मुलुकभर नै सोमबार साँझ भैलो खेलिएको थियो ।
लक्ष्मीपूजाको राति खेलिएको भैलोले यसवर्ष पनि सहरका गल्लीहरूमा सांस्कृतिक जीवन्तता कायम गरिदियो । परम्परागत पोसाकमा सिँगारिएका महिलाहरूको समूह दीप र फूलको माला बोकेर टोलटोल परिक्रमा गरेर भैलो खेल्दा माहोल रोमाञ्चक बनेको थियो ।
उनीहरूका गीत र नाचले तिहारलाई निक्कै रमाइलो बनाइदियो । घरधनीहरू दक्षिणा, फलफूल र मिठाईसहित भैलो टोलीलाई स्वागत गर्न निस्किएको दृश्य निक्कै रमाइलो देखिन्थ्यो । यसरी गीत, संगीत, उज्यालो र हाँसोको फुलबारीमा विराटनगर फेरि एकपटक तिहारको रंगले रंगिएको छ ।
भैलो खेल्ने परम्परा धार्मिक आस्थासँग गाँसिएको छ । जनविश्वास अनुसार लक्ष्मपूजाको रात देवी लक्ष्मी घरघरमा आइरहेकी हुन्छिन् र दीप प्रज्वलनबाट उनलाई स्वागत गरिन्छ । महिलाहरू र बालिकाहरूले भैलो खेल्दा देवी प्रसन्न हुने र घरमा धन–सम्पत्ति, सौख्य र सौभाग्यको आशीर्वाद रहन्छ भन्ने जनविश्वास छ ।
कतिपय धर्मग्रन्थका व्याख्यामा समुद्रमन्थनको बेला लक्ष्मी प्रकट भएको अवसरमा दीप बाल्ने र भैलो खेल्ने परम्परा सुरु भएको उल्लेख गरेको पाइन्छ । त्यसै स्मरणमा आज पनि महिलाहरूले गीत गाएर ‘जय लक्ष्मी माता, धन्य भाग्य देऊ’ भन्दै सहरदेखि गाउँसम्म उज्यालो बनाउने गरेका छन् ।
विराटनगरका टोलहरूमा सोमबार राति देखिएको दृष्य साँच्चिकै मोहक थियो । कतै मादलको तालमा भैलो गुञ्जिन्थ्यो, कतै बालबालिकाहरू मिठाई संकलन गर्दै हाँस्दै दौडिरहेका थिए । विराटनगर–५ की मधु कोइराला भन्छिन्, ‘भैलो खेल्न जान पाइयो भने तिहारको रमाइलो त्यतिबेलै सुरु हुन्छ ।’
समूहमा मिलेर भैले खेल्दा निक्कै रमाइलो भएको उनले सुनाइन् । महिलाहरुसँगै बालिकाहरुको अलगअलग समूह पनि दीप बोकेर घरघर पुग्थे र गीत गाउँदै नाच्थे । ‘भैलो ओ भैलो, लक्ष्मी आउँछिन् हाम्रा घर’मा भन्दै बालिकाहरुले भैलो गाउँदा र नाच्दा वातावरण नै रंगिन बन्यो ।
महिलाहरूका लागि भैलो पर्वको रमाइलो मात्रै नभएर समाजसँग पुनः नजिकिने अवसर पनि भएको कोइरालाको भनाइ छ । ‘भैलो खेल्दा साथीभाइ भेटिन्छ । गीत गाउँदा र नाच्दा मन हलुका हुन्छ । यो हाम्रो संस्कृतिलाई जोगाउने सुन्दर बाटो हो,’ उनले भनिन् । साँझको समयदेखि सुरु हुने यो नाचगान रातभर चल्ने गर्छ । सहरका गल्लीदेखि गाउँहरू भैलोले संगीतमय बन्छन् ।
यसवर्ष मोरङ प्रशासनले राति १० बजेपछि देउसी भैलो खेल्न रोक लगाएको छ । प्रशासनले लगाएको नियममा बसेर भैलो खेलिएको विराटनगर जामुनगाछीकी टीका खरेलले बताइन् । ‘भैलो महिलाले जीवित राखेको मौलिक परम्परा हो । यसले धर्म, संगीत र सामाजिक एकताको सुन्दर संयोजन गर्छ,’ उनले भनिन् । खरेलका अनुसार भैलो देवी लक्ष्मीको आराधना र नाचगानसँगै परिवार, समुदाय र संस्कृतिलाई एकै डोरोमा बाँध्ने परम्परा पनि हो ।
तिहारको चहलपहलले बजार पनि उज्यालो बनाएको छ । महिलाहरू भैलोका लागि दीप, फूल र गहना किन्न बजार पुग्छन् । जसले व्यापारिक रौनक पनि बढाएको थियो ।
विराटनगरका गल्लीदेखि विभिन्न ठाउँमा तिहारको असली रौनक भैलोमै केन्द्रित भएको खरेलको भनाइ छ । महिलाहरूको नाचगान, बालिकाको उत्साह र दीपको उज्यालोले तिहारलाई थप चम्किलो र आत्मीय बनाइदिएको उनले बताइन् । उनका अनुसार भैलोमा रमाउने गीत र नाचसँगै तिहारको उज्यालो बत्तीमा मात्रै नभएर संस्कार, सहकार्य र हर्षमा पनि हुने गर्छ ।























