
विराटनगर । मोरङको लेटाङ नगरपालिका–४ मा नेपाली सेनाको पिकअप गाडीमा स्कुटर ठोक्किँदा १ जना महिला घाइते भएकी छन् । नेपाली सेनाको पूर्वी पृतना शिक्षालय लेटाङको गेटअगाडि दुर्घटना भएको हो ।
पूर्वी पृतना शिक्षालय लेटाङको बा २ झ ५३६ नम्बरको पिकअप गाडी गेटबाट बाहिर निस्कँदै गर्दा को २८ प २६४५ नम्बरको स्कुटर अनियन्त्रित भएर उक्त गाडीमा ठोक्किएको थियो । दुर्घटनामा स्कुटर चालक लेटाङ नगरपालिका–५ की ३२ वर्षीया कमला मगर घाइते भएको प्रहरीले जनाएको छ ।
मगरको दाहिने खुट्टामा गहिरो चोट लागेको र उनको अवस्था मध्यम रहेको जनाइएको छ । उनलाई प्रारम्भिक उपचारका लागि लेटाङ एडभान्स अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि पूर्वी पृतना हेडक्वार्टर्स अस्पताल इटहरीमा पठाइएको नेपाली सेनाले जनाएको छ ।
पिकअप गाडीका चालक पूर्वी पृतना शिक्षालय लेटाङमा कार्यरत नेपाली सेनाका जम्दार केशव कार्की रहेको खुलेको छ । ४२ वर्षीय कार्की मोरङको रतुवामाई नगरपालिका–९ का बासिन्दा हुन् । दुर्घटनापछि स्कुटरलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लेटाङमा राखिएको छ ।

























