
विराटनगर । विराटनगरमा बुधबार दिउँसो १ जना पुरुष मृत फेला परेका छन् । प्रहरीका अनुसार मृत फेला परेका पुरुष मोरङको कानेपोखरी गाउँपालिका–९ घर भएका ५२ वर्षीय नरबहादुर कटवाल रहेको खुलेको छ ।
कटवाल विराटनगर महानगरपालिका–९ चुलाचुली मार्गस्थित सडकको पेटीमा दिउँसो १ बजेतिर मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनसाथ खटिएको प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ ।
सडकको पेटीमा मानिस मृत फेला परेको देख्नसाथ स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार कटवाल विराटनगर बजारमा मागी खाएर हिँड्थे ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनको मृत्युको कारण खुलेको छैन । प्रहरीले मृत्युको कारण पत्ता लगाउन घटनाको अनुसन्धान अघि बढाएको छ ।

























