भदौ २४ विध्वंस: प्रहरीको हत्यामा संलग्न थुनामा, ७६ जना पक्राउ

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ६, बिहीबार ०८:५३

काठमाडौं । गत भदौ २४ गते देशव्यापी रूपमा भएको विध्वंसात्मक गतिविधि र जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थितिमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले हालसम्म ७६ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार घटनामा संलग्नहरूमध्ये ज्यान मार्ने उद्योग, आगजनी, तोडफोड तथा आपराधिक उपद्रवका विभिन्न कसुरमा उनीहरूलाई पक्राउ गरिएको हो।

आगजनी, तोडफोड र उपद्रवमा संलग्न: ६३ जना

ज्यान मार्ने उद्योगमा संलग्न: १ जना

अभद्र व्यवहारमा संलग्न: ३ जना

परिसरका प्रमुख एसएसपी रमेश थापाका अनुसार भदौ २४ गते तीन प्रहरीको हत्या भएको घटनामा संलग्न ९ जनामध्ये ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।

थापाले दिएको जानकारीअनुसार प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले दायर गरेको मुद्दामा अदालतले उनीहरूलाई थुनामा पठाउने आदेश दिएको हो। बाँकी ५ जनालाई प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ।

प्रहरीले सोही घटनाको मौका पारी कारागारबाट भागेका १३२ जना कैदीबन्दीलाई पक्राउ गरिसकेको जनाएको छ। साथै, घटनाक्रममा हराएका केही हतियार पनि बरामद गरिएको प्रहरीले बताएको छ।

प्रहरीले हतियार लुटपाट, तोडफोड, आगजनी र नक्कली हतियार देखाएर आतंक मच्चाउनेहरूमाथि अनुसन्धान जारी राखेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.