
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको तिहारको टीका शुभसाइतमा ग्रहण गरेका छन् ।
राष्ट्रपति पौडेलले बिहीबार बिहान ११ः३९ बजेको साइतमा आफ्ना बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट टीका ग्रहण गरेका हुन् । टीका कार्यक्रम काठमाडौंको शीतलनिवासस्थित राष्ट्रपति भवनमा सम्पन्न भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटिकाको उत्तम साइत बिहान ११ः३९ बजेका लागि निर्धारण गरेको थियो । यद्यपि, समितिले साइतपछि पनि दिनभर टीका लगाउन सकिने व्यवस्था रहेको स्पष्ट पारेको छ ।
तिहारको पाँचौं अर्थात् यमपञ्चकको अन्तिम दिन दिदीबहिनीहरूले दाजुभाइको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै टीका लगाउने र दाजुभाइहरूले पनि आशीर्वादस्वरूप दिदीबहिनीलाई टीका र उपहार दिने परम्परा रहिआएको छ ।
राष्ट्रपति पौडेलले टीका ग्रहण गर्दै दिदीबहिनीसँग शुभकामना साटासाट गरेका थिए । टीका समारोहमा परिवारका अन्य सदस्यहरू पनि उपस्थित रहेका थिए ।

























