सकियो तिहार, छठको तयारी

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कार्तिक ६, बिहीबार १८:१०

विराटनगर । हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व तिहार बिहीबारदेखि सकिएको छ । ५ दिनसम्म मनाइने तिहार भाइटीकासँगै सम्पन्न हुन्छ ।

तिहार पर्वको समापनसँगै मिथिलाञ्चल तथा तराई–मधेशमा छठ पर्वको तयारी सुरु भएको छ । छठको तयारीसँगै उत्साह र रौनक पनि छाएको छ । तराई–मधेशसहित देशका विभिन्न क्षेत्रमा श्रद्धा, निष्ठा र आस्थाको प्रतीकका रूपमा मनाइने छठ पर्वको तयारी धमाधम भइरहेको हो ।

सूर्य भगवान र छठी माताको आराधना पानीमै गरिने भएकाले विभिन्न ठाउँमा पोखरी, नदी र तलाउहरूमा सरसफाइदेखि घाट निर्माणसम्मका काम तीव्र रूपमा अघि बढाइएका छन् । मिथिलाको सांस्कृतिक पहिचान मानिने यो पर्वको तयारीबारे जानकारी दिँदै संस्कृतिविद् ध्रुव रायले भने, ‘छठ मिथिलाको आत्मा हो । यहाँका प्रत्येक घरमा यो पर्व श्रद्धा र शुद्धताका साथ मनाइन्छ । अहिले सबै जलाशयहरूमा घाट तयार पार्ने, फोहोर हटाउने र बाटो मर्मतको काम भइरहेको छ ।’

महोत्तरीको जलेश्वर नगरपालिका–८ का वडा अध्यक्ष विजयकुमार सिंहका अनुसार सूर्यदेव र छठी माताको पूजा पानीमा नै गरिनु पर्ने परम्परा भएकाले पोखरी र तलाउहरूका वरिपरि खाल्डा पुर्ने, बाटो सम्याउने र माटोको सतह ठीक पार्ने काम सुरु भइसकेको छ । ‘सुरक्षा र सरसफाइलाई ध्यानमा राख्दै स्थानीय युवाहरूले पनि स्वेच्छिक रूपमा घाट निर्माणमा सघाइरहेका छन्,’ उनले भने ।

जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारका अनुसार मिथिलाञ्चलमा छठलाई निष्ठा र अनुशासनको पर्वका रूपमा लिइन्छ । ‘छठको तयारी यहाँ एक साता अगाडिदेखि नै सुरु हुन्छ । घर–घरमा पुराना सरसामान सफा गर्ने, आँगन र आँगनमा माटो लेप्ने, र भक्तजनहरू व्रत बस्ने तयारीमा व्यस्त छन्,’ उनले भने ।

जलेश्वर–८ स्थित प्रसिद्ध पाठक पोखरीमा यस वर्ष पनि भव्य छठ घाट निर्माण भइरहेको छ । छठ पूजा समितिका संयोजक केशव झाका अनुसार पोखरीको बीचमा बाँस र काठ प्रयोग गरेर सानो मन्दिर बनाइँदैछ, जहाँ सूर्य र छठी माताको मूर्ति स्थापित गरिनेछ । ‘मन्दिरसम्म पुग्नका लागि पानीमै बाँसको बाटो बनाइरहेका छौँ । करिब पाँच सय मिटर लामो गुफा–शैलीको पंडाल, बत्तीको सजावट र सांस्कृतिक झल्को दिने सामग्री राखिँदैछ,’ उनले भने ।

त्यसैगरी, जलेश्वर–१ स्थित बरुण सरोवरमा पनि आकर्षक सजावट भइरहेको वडा अध्यक्ष अनिल झाले बताए । ‘घाट वरिपरि रंगीन बत्ती, ध्वजापताका र पुष्पसजावट गरिँदैछ । महिलाहरूले व्रत बस्ने स्थानहरूलाई विशेष रूपमा आकर्षक बनाइँदैछ,’ उनी भन्छन् ।

छठ पर्वका बेला तराई–मधेशको वातावरण उत्सवमय बन्ने गरेको छ । देशको केही पहाडी क्षेत्रमा पनि पछिल्लो समय छठ पर्व मनाउन थालिएको छ । महोत्तरीको मटिहानी, गौशाला, औरही, बलवा, लोहारपट्टीलगायत स्थानका नदीघाटहरूमा पनि तयारी तीव्र भएको जिल्ला समन्वय समितिका संयोजक सुमनकुमार लाल कर्णले बताए । उनका अनुसार नदी र पोखरीका किनारमा अस्थायी पुल र पथ निर्माण, बत्ती जडान र सुरक्षाकर्मी परिचालनका काम स्थानीय तह र समाजसेवी समूहले संयुक्त रूपमा गरिरहेका छन् ।

छठ पर्वको बेला व्रतालुहरू चार दिनसम्म कठोर नियम पालन गर्दै सूर्य भगवानको आराधना गर्छन् । यस क्रममा उनीहरू पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन ‘खरना’, तेस्रो दिन साँझ अस्ताउँदो सूर्य र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् ।

मिथिलाञ्चलका महिलाहरू बिहान रसाँझ घाटमा गीत गाउँदै, माटाको दीयो बाल्दै, सूर्य र छठी मातासँग परिवारको कल्याण र सन्तानको दीर्घायुका लागि प्रार्थना गर्छन् । महोत्तरीसहित सम्पूर्ण तराई–मधेशमा छठको तयारीसँगै बजारमा बाँसका डोका, ढाकी, माटाका दीया, फलफूल र पूजाका सामानको बिक्री पनि तीव्र भएको छ ।

यो पर्वलाई सामाजिक एकताको प्रतीकका रूपमा समेत लिने गरिन्छ । जलेश्वरका एक वयोवृद्ध धर्मप्रेमी रामचन्द्र ठाकुर भन्छन्, ‘छठ पूजा मात्रै होइन, यो सामूहिक सहकार्य र स्वच्छताको पर्व हो । हामीले हाम्रो नदी, पोखरी र समाजलाई पनि पवित्र बनाउने अवसरका रूपमा यसलाई लिन्छौं ।’

मिथिलाञ्चलका विभिन्न नगर र गाउँहरूमा यसै हप्ता छठको विशेष सांस्कृतिक कार्यक्रम, भजन–कीर्तन र सामूहिक पूजा आयोजना गर्ने तयारी भइरहेको छ । स्थानीय प्रशासनले सुरक्षाको व्यवस्था मिलाउने गरेको छ ।

सूर्यदेव र छठी माताप्रतिको गहिरो आस्था र श्रद्धाले मिथिलाञ्चल अहिले उज्यालो र उत्साहले भरिएको बताइन्छ । पोखरीका छेउमा गुञ्जिरहेका लोकगीत र माटोको सुवासले त्यहाँको वातावरणलाई एउटा विशेष धार्मिक एवं सांस्कृतिक रंगमा रंगाइदिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.