
काठमाडौं । गायिका नितु पौडेलको मृत्यु भएको छ । आत्मदाहको प्रयाय गर्दै उनले केही दिनअघि आफ्नै शरीरमा आगो लगाएकी थिइन् ।
कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए । उनका अनुसार शुक्रबार बिहान ८ः३० बजेतिर पौडेलको मृत्यु भएको हो ।
गत शनिबार पौडेलले अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् । आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
यो घटनामा प्रहरीले यसअघि गायक बाबुल गिरीलाई बोलाएर सोधपुछ गरेको थियो । अहिले पनि गिरी प्रहरीकै सम्पर्कमा रहेका छन् । उनीविरुद्ध कुनै जाहेरी नपरेको प्रहरीले जनाएको छ ।

























