
विराटनगर । सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार इटहरी र धरानमा दुर्घटना भएको हो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३७ प ३९६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर बिहीबार राति ९ः१० बजेतिर इटहरी उपमहानगरपालिका–११ मा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मोटरसाइकल चालक इटहरी–८ घर भएका अन्दाजी २६ वर्षीय राम सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका सरदारलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो । अस्पताल पुर्याउनसाथ राति १० बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै, धरान उपमहानगरपालिका–१७ सर्दु पुलमा बिहीबार दिउँसो ४ः४० बजेतिर मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । चतराबाट धरानतर्फ आउँदै गरेको प्र १–०२–०५० प ५२२६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा चालक उदयपुरको चौदण्डीगढी गाउँपालिका–४ का ५२ वर्षीय नगेन्द्रप्रसाद राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका राईलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । प्रतिष्ठान पुर्याउनसाथ चिकित्सकले साँझ ५ः५२ बजेतिर उनलाई मृत घोषित गरेको जानकारी प्रहरीले दिएको छ ।

























