
विराटनगर । विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा बन्दी जीवन बिताइरहेका १ जनाको मृत्यु भएको छ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–७ घर भएका ३२ वर्षीय गोपाल भनिने जितप्रसाद सापकोटाको मृत्यु भएको कारागारका जेलर गौरव ढुंगेलले बताए । उनका अनुसार सापकोटा लागुऔषध मुद्दाका बन्दी हुन् ।
अचानक शरीर सुन्निने, सास फेर्न गाह्रो हुने समस्या देखिएपछि उनलाई उपचारका लागि असोज २७ गते राति विराटनगरकै कोशी अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था थप जटिल बनेपछि कोशी अस्पतालले कात्तिक ६ गते बिहीबार राति रेफर गरिदियो ।
थप उपचारका लागि सापकोटालाई विराटनगरकै नोबेल शिक्षण अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा शुक्रबार राति ९ बजेतिर मृत्यु भएको जेलर ढुंगेलले बताए । उनका अनुसार सापकोटाको फोक्सोमा पानी जमेको र कलेजो पूर्णरूपमा खराब भएकाले बचाउन नसकिएको जानकारी उपचारमा संलग्न चिकित्सकले दिएका छन् ।
लागुऔषध मुद्दाका प्रतिवादी रहेका सापकोटालाई जिल्ला अदालत मोरङले गत साउन १२ गते थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि उनलाई जिल्ला कारागार मोरङ चलान गरिएको थियो ।
उनीविरुद्धको मुद्दा अदालतमा विचाराधीन छ । आफूविरुद्ध चलेको मुद्दाको किनारा नलाग्दै सापकोटाको मृत्यु भएको हो । शव भने परिवारले जिम्मा लिएर लगिसकेको जेलर ढुंगेलले बताए ।
जिल्ला कारागार मोरङमा हाल १ हजार १ सय ८७ जना कैदीबन्दी छन् । तीमध्ये १ हजार ७५ पुरुष र १ सय १२ जना महिला रहेको जानकारी ढुंगेलले दिए ।

























