जेनजी आन्दोलनको नाममा अपराध गरे दण्डः आईजीपी

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ८, शनिबार १२:५०

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले जेनजी आन्दोलनको बहानामा आपराधिक गतिविधि गर्नेहरू दण्डित हुने बताएका छन् ।

काठमाडौँमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले आन्दोलनको परिस्थितिमा समाजलाई धमिल्याउन खोज्ने आपराधिक प्रवृत्तिको चलखेल भएको देखिएको र त्यस्ता कार्य गर्नेलाई कारबाही हुने स्पष्ट पारेका हुन् ।

आईजीपी खापुङले भने, ‘जेनजी आन्दोलनको बहानामा, त्यही परिस्थितिमा समाजलाई धमिल्याउन खोज्ने आपराधिक प्रवृत्तिको पनि चलखेल भएको देखिएको छ । त्यो वास्तवमा गलत हो र त्यो आपराधिक कार्य नै हो । त्यस्ता आपराधिक कार्यहरू दण्डित हुनुपर्छ । उनीहरू क्रमशः दण्डित हुन्छन् भन्ने कुरा यहाँहरू सबै समक्ष आश्वासन दिन चाहन्छु ।’

उनले समाजलाई शान्ति सुरक्षा दिने दायित्वबाट नेपाल प्रहरी कहिल्यै पछि नहट्ने दाबी गरे । आईजीपी खापुङले जेनजी आन्दोलनपछि प्रहरीको मनोबल खस्केको भन्ने भनाइमा कुनै सत्यता नरहेको पनि बताए ।

उनले प्रहरीहरू स्थानीय जनताको सहयोगमा नै सबै चौकीहरूमा पुनःस्थापित हुन सकेको जानकारी दिए । उनले प्रहरीले कुनै पनि आपराधिक गतिविधिलाई रोक्नुपर्ने भएकाले समाजलाई धमिल्याउने त्यस्ता तत्वहरूलाई निशाना बनाएर अघि बढ्नुपर्ने अवस्था रहेको उल्लेख गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.