प्रदर्शनकारीलाई संवादमा आउन गृहमन्त्रीको आग्रह

Share this
655shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ८, शनिबार १५:३३

काठमाडौँ । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहहरुलाई संवादका लागि आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहितको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार संवादका लागि आग्रह गरेका हुन् ।

सरकारले राजनीतिक माग संवादको माध्यमबाट सम्बोधन गर्ने उनले उल्लेख गरे । ‘संवाद गर्न सरकार तयार छ । सडकमा जानु जरुरी छैन,’ गृहमन्त्री अर्यालले भने ।

लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन नहुनेतर्फ प्रदर्शनकारी सचेत हुनुपर्ने उनको भनाइ छ । ‘सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्‍याउनु भएन । कहीँकतै हिंसात्मक गतिविधि हुनु भएन । विभिन्न राजनीतिक शक्ति र आन्दोलनकारीलाई सरकारको अनुरोध हो’ उनले भने ।

बालुवाटार सुरक्षा बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाको सूक्ष्म विश्लेषण भएको जानकारी दिँदै उनले सुरक्षा स्थितिलाई समान्यीकरण गर्दै चुनावको वातावरण बनाउन सरकार केन्द्रित रहेको बताए ।

प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी थिइन् । बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए । बैठकमा सम्भावित सुरक्षा चुनौतीका विषयमा पनि छलफल भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.