
काठमाडौं । विद्युत् तथा इलेक्ट्रोनिक्स इन्जिनियरहरूको प्रतिष्ठित संस्था (आईईईई) नेपाल सेक्सनले नेपालमा विश्वकै ठूलो कोडिङ प्रतिस्पर्धा आयोजना गर्ने भएको छ।
संस्थाले शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘आईईईई एक्सट्रिम १९.०’ नामक कोडिङ प्रतियोगिता नेपालमा गर्न लागेको जानकारी दिएको हो।
२० हजार विद्यार्थीबीच २४ घण्टे प्रतिस्पर्धा
आगामी अक्टोबर २५ मा आयोजना हुने यस प्रतियोगितामा ७५ भन्दा बढी देशका २० हजार भन्दा बढी विद्यार्थीहरूले प्रतिस्पर्धा गर्नेछन्।
आईईईई नेपाल सेक्सनका अध्यक्ष डा. अरुणकुमार तिमल्सिनाका अनुसार यो प्रतियोगिता २४ घण्टासम्म निरन्तर सञ्चालन हुनेछ, जसमा सहभागी विद्यार्थीले जटिल कोडिङ समस्याहरूको समाधान गर्नेछन्।
डा. तिमल्सिनाले यो प्रतिस्पर्धा कम्प्युटर इन्जिनियरिङ र कम्प्युटर साइन्स पढ्ने विद्यार्थीहरूका लागि लक्षित रहेको बताए। प्रतियोगितामा विद्यार्थीहरूले कम्प्युटर प्रोग्राम लेखेर सूचना प्रविधिसम्बन्धी समस्याहरूको निराकरण गर्नेछन्।
उनका अनुसार यसले विद्यार्थीमा सिर्जनशीलता, समस्या समाधान क्षमता र टिमवर्कको कौशल वृद्धि गराउनेछ।
उत्कृष्ट कोडिङको मूल्याङ्कन
अध्यक्ष तिमल्सिनाले प्रतिस्पर्धाको उद्देश्य स्पष्ट पार्दै भने, “यो कम्प्युटर, इन्जिनियरिङ, कम्प्युटर सोसाईटी, कम्प्युटर सिष्टम, आईटीको २४ घण्टे यस्तो प्रतिस्पर्धा हो, जहाँ केही समयको अन्तरालमा नयाँ समस्या आउँछ। कम्प्युटर प्रोग्राम गरेर निराकरण गर्दा उसले कत्तिको राम्रो खालको कोड लेख्ने भन्ने कुराको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हो।”
उनका अनुसार कोडको उत्कृष्टताले कम्प्युटरको मेमोरी र प्रोसेसिङ दुवैमा अप्टिमल (उत्कृष्ट) प्रदर्शन गराउन सक्नुपर्छ, जसले सफ्टवेयरको गति र क्षमतालाई बढाउँछ।

























