
विराटनगर । पछिल्ला केही महिनायता मोरङ, सुनसरी र झापा जिल्लामा किशोरीहरू बेपत्ता हुने घटनाले अभिभावक र प्रहरीलाई चिन्तित बनाएको छ।
विशेषगरी सामाजिक सञ्जालको बढ्दो दुरुपयोग र चाडपर्वका बेला घरबाट निस्कने क्रममा किशोरीहरू हराउने गरेको पाइएको छ।
मोरङ र सुनसरीमा चाडपर्वकै बेला दुई किशोरी सम्पर्कविहीन भएका छन्। मोरङ, केराबारी–३, रामपुरकी १४ वर्षीया रुका मगर भाइटीकाको दिनदेखि सम्पर्कविहीन छिन्। परिवारलाई कुनै जानकारी नदिई घरबाट निस्किएकी उनी अझैसम्म नफर्किएको आमा लीला माया मगरले बताइन्।
सुनसरीको इनरुवा–५ बलाहाकी १५ वर्षीया भावना पाण्डे लक्ष्मीपूजाको साँझ भैलो खेल्न भन्दै घरबाट निस्किएकी थिइन्। उनी पनि त्यस दिनदेखि हालसम्म घर फर्किएकी छैनन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशवकुमार थेवेले बेपत्ता किशोरीहरूको खोजी नेपाल र भारत दुवैतिर तीव्र पारिएको र केही दिनभित्रै पत्ता लाग्ने विश्वास व्यक्त गरे।
यसैबीच, बेपत्ता भएकी मोरङकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन्। लेटाङ–२ की १३ वर्षीया अंशु गौतम पिङ खेल्न भनी २१ असोजमा घरबाट निस्किएकी थिइन्। उनी हराएको दुई सातापछि शुक्रबार बेलबारी–चिसाङ साझेदारी वनभित्र क्षतविक्षत अवस्थामा मृत फेला परेकी हुन्।
स्थानीय महिलाले घाँस काट्ने क्रममा टाउको र शरीर छुट्टिएको तथा कपडा च्यातिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। परिवारले कपडा, चप्पल र घडीका आधारमा शवको पहिचान गरेका छन्।
मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालले शवको आधिकारिकता प्रमाणित गर्न डीएनए परीक्षण र मृत्युको कारण पत्ता लगाउन फरेन्सिक जाँचका लागि पठाइएको जानकारी दिए।
यसै क्रममा, मोरङको उर्लाबारी नगरपालिका–३ मंगलबारेकी १४ वर्षीया आयुषा धिमाललाई भने प्रहरीले शनिबार उद्धार गरेको छ। मामाघर कानेपोखरी–५, दुम्रीघाटबाट हराएकी उनलाई प्रहरी टोलीले विराटनगर बरगाछीस्थित एक होटलबाट फेला पारी अभिभावकको जिम्मा लगाएको एसपी कटुवालले जनाए।
प्रहरी तथ्यांकअनुसार, हराउनेमध्ये अधिकांश किशोरीहरू नै छन्। प्रहरीले यस्ता घटना बढ्नुमा सामाजिक सञ्जाल र मोबाइलको प्रयोग नै मुख्य कारण भएको दाबी गरेको छ।
फेसबुक, टिकटक, इन्स्टाग्रामजस्ता माध्यमबाट अपरिचितसँग प्रेम, लोभलालच र प्रलोभनमा पर्ने क्रम बढेको र यही कारण कतिपय घटनामा बलात्कार र हत्यासम्मका जघन्य अपराध हुने गरेको प्रहरीको भनाइ छ। किशोरीहरूको बढ्दो बेपत्ताका घटनाले सामाजिक सञ्जालको निगरानी, परिवारभित्रको संवाद र सुरक्षा सचेतनाको कमीलाई गम्भीर प्रश्नको घेरामा ल्याइदिएको छ।























