सांकेतिक तस्बिरविराटनगर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–८, भदौरेमा एक व्यक्तिले भरुवा बन्दुक प्रयोग गरी आफ्नै छोराको हत्या गरेका छन् ।
प्रहरीका अनुसार ५२ वर्षीय बखतसिंह सिंगक लिम्बूले आइतबार अपराह्न मादक पदार्थ सेवन गरी घर पछाडिको बारीमा १७ वर्षीय छोरा सफल सिंगक माथि भरुवा बन्दुक चलाएका थिए ।
बखतसिंहले चलाएको बन्दुकको गोली लागेर छोरा सफलको शरीरका विभिन्न भागमा चोट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका निमित्त प्रवक्ता इन्स्पेक्टर रुपेश तामाङले जानकारी दिए ।
घटनाको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले हत्यामा संलग्न बखतसिंहलाई बन्दुकसहित नियन्त्रणमा लिएको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

























