
काठमाडौँ । राष्ट्रिय जनावर गाईको संरक्षण र महत्त्वबारे जनचेतना जगाउनका लागि ‘गौ संरक्षण दिवस’ घोषणा गर्न माग गरिएको छ । ओमकार योग आयुर्वेद गुरुकूल, गोरखाले काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रत्येक वर्ष कार्तिक शुक्ल अष्टमीका दिन मनाइने गोपाष्टमी पर्वलाई नै गौ संरक्षण दिवस घोषणा गरिनुपर्ने माग गरिएको हो ।
गुरुकुलका प्राचार्य आचार्य गोविन्द रेग्मीले स्थानीय जातका गाई लोप हुँदै गएकाले तिनीहरूको संरक्षण गरी महत्त्व बुझाउन सबैलाई प्रेरित गर्ने वातावरण बनाउनका लागि दिवसको घोषणा गरिनुपर्ने बताए । यसै मागलाई समर्थन गर्दै र गाईको संरक्षणमा जोड दिन गुरुकुलले यस वर्षको गोपाष्टमी पर्वको अवसर पारेर गोरखादेखि काठमाडौँसम्म ‘गौ संवर्द्धन पदयात्रा’ आयोजना गर्न लागेको जानकारी दिएको छ ।
पदयात्रा मिति: पदयात्रा कात्तिक १२ गते बेलुकी काठमाडौँ आइपुग्नेछ । कात्तिक १३ गते थापाथलीबाट नारायणहिटीस्थित नारायण मन्दिरसम्म पदयात्रा गरेर प्रवचन कार्यक्रम गरिने प्राचार्य रेग्मीले बताए । कार्यक्रममा संस्कृतिविद् डा. जगमान गुरुङले पनि स्थानीय गाईको संरक्षणका लागि पदयात्रा आयोजना गरिएको बताउँदै काठमाडौँमा प्रवचन कार्यक्रम गरिने जानकारी दिए ।























