
काठमाडौं। बंगालको खाडीमा सक्रिय रहेको चक्रवात ‘मोन्था’ आज (मंगलबार) थप शक्तिशाली भएर गम्भीर चक्रवाती आँधीमा परिणत हुने भारतीय मौसम विभागले जनाएको छ।
यो आँधी आज बेलुका वा राति आन्ध्र प्रदेशको तटीय क्षेत्र पार गर्ने अनुमान गरिएको छ, जसले गर्दा आन्ध्र प्रदेश र तमिलनाडुका केही भागमा भारी वर्षा हुने सम्भावना छ। चक्रवातले तट पार गर्दा हावाको गति ९० देखि १०० किलोमिटर प्रति घण्टासम्म पुग्न सक्ने विभागको भनाइ छ।
नेपालमा कहिले र कहाँ पर्छ असर?
मौसमविद्हरूका अनुसार भारतमा सक्रिय भएको केही दिनमै चक्रवात ‘मोन्था’को प्रभाव नेपालमा पनि देखिनेछ।
बंगालको खाडीबाट विकसित भएको यो प्रणाली पूर्वी नेपालबाट प्रवेश गर्नेछ। यो आँधी बिहीबार पूर्वी नेपालमा सक्रिय हुने पूर्वानुमान छ। यसको प्रत्यक्ष प्रभाव कोशी प्रदेशका साथै मधेश प्रदेश हुँदै मध्य नेपालसम्म पर्न सक्ने अनुमान गरिएको छ।
यसअघि भारतीय मौसम विभागले ‘मोन्था’को प्रभावबाट महाराष्ट्रको विदर्भ क्षेत्रमा अक्टोबर २८ देखि ३० सम्म मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको बताएको थियो।























