हिमपातका कारण जनजीवन प्रभावित, पर्यटकहरू होटेलमै सीमित  

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कार्तिक ११, मंगलबार १६:०९

विराटनगर । सोलुखुम्बुका केही स्थान हिमपात र वर्षाका कारण जनजीवन प्रभावित भएको छ भने पर्यटकहरूलाई सुरक्षित रहन प्रशासन सूचना जारी गरेको छ ।

सगरमाथा क्षेत्रमा मंगलबार बिहानैदेखि बाक्लो हिमपात भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाको दिङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छ भने नाम्चे बजार र आसपासका तल्लो क्षेत्रमा वर्षा भइरहेको छ ।

दिङ्बोचेभन्दा माथि बाक्लो हिउँ परेको छ भने तल्लो क्षेत्रमा वर्षा भइरहेको हुँदा कोही पनि बाहिर निस्कन सम्भव छैन । त्यहाँ पुगेका पर्यटकहरू सबै होटेलभित्रै छन् र कसैलाई पनि घर वा बाहिर ननिस्कन प्रशासनले सूचना जारी गरेको छ ।

हाल यस क्षेत्रमा करिब ३ हजार बढी विदेशी पर्यटक रहेको अनुमान गरेको छ । सोमबार मात्रै करिब ८ सय विदेशी पर्यटक काठमाडौंबाट लुक्ला आएका थिए ।

हिमपातका कारण बाटो नदेखिने हुँदा पर्यटकहरू हराउन सक्ने जोखिम भएकाले जिल्ला प्रशासन कार्यालयले पर्यटकहरूलाई यात्रामा ननिस्कन आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले भनिन्, ‘मौसम प्रतिकूल भएकाले सबै पर्यटकलाई सुरक्षित रहन र होटेल वा बस्तीमै बस्न अनुरोध गरिएको छ ।’

जिल्ला प्रशासनले उद्धार टोली तयारी अवस्थामा राखेको छ । जिल्ला प्रहरी कार्यालयका  प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार दिङ्बोचेमा अस्थायी प्रहरी पोस्ट छ, त्यहाँका प्रहरीसँग निरन्तर सम्पर्कमा रहेर पर्यटकहरूका बारेमा जानकारी लिने कार्य भइरहेको छ ।

दिङ्बोचेभन्दा माथि करिब २ हजार विदेशी पर्यटक रहेको अनुमान गरिएको छ । लगातारको हिमपात र वर्षाले चिसो बढेको र हिउँले गाउँ ढाकेको हुँदा स्थानीय सबै जना घरभित्रै रहेको बताइएको छ ।

लगातारको हिमपातले खुम्बु क्षेत्रको जनजीवन प्रभावित भएको छ । पर्यटकको भीडले गुन्जिने नाम्चे बजार सुनसान भएको छ । हिउँले सुन्दर दृश्य त दिएको छ, तर दैनिकी भने कठिन बनाइदिएको स्थानीयहरू बताउँछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.