
विराटनगर । बीपी राजमार्गअन्तर्गत सिन्धुली, सुनकोसी गाउँपालिका–६ चैनपुरमा आज (मंगलबार) कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
विराटनगरबाट काठमाडौँ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई सडकबाट ४२ फिट तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी एकै परिवारका तीन जना घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार विराटनगर उपमहानगरपालिका–१७ का ६५ वर्षीय ओमबहादुर अर्जेलले चलाएको कार अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनापछि प्रहरीले घाइतेको उद्धार गरी उपचारका लागि आत्मीय सामुदायिक अस्पताल खाल्टे लगेको थियो । उपचारका लागि अस्पताल लगिए पनि ओमबहादुरको मृत्यु भएको प्रनाउ सुवेदीले बताए।
मृतककी श्रीमती ४९ वर्षीया सुनिता अर्जेलको अवस्था गम्भीर छ। उनका छोरा ३१ वर्षीय निशान्त अर्जेलको आत्मीय सामुदायिक अस्पताल खाल्टेमा प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।























