
विराटनगर । जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिन गर्न गठित न्यायिक जाँचबुझ आयोगले भदौ २३ र २४ गते भएका घटनाहरू फरक प्रकृतिका भएको निष्कर्ष निकालेको छ ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले भदौ २४ गते भएको आगजनी र लुटपाटको घटनालाई ‘पूर्ण फौजदारी अपराध’ को संज्ञा दिँदै दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन् ।
आज (मंगलबार) जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले भदौ २३ गतेको घटनालाई आन्दोलनको क्रममा भएको बताए पनि २४ गतेको घटनालाई भने आन्दोलन मान्न नसकिने स्पष्ट पारे ।
अध्यक्ष कार्कीले आयोग आफैँले फौजदारी अनुसन्धान नगर्ने स्पष्ट पार्दै प्रहरीलाई आफ्नो कानुनी अधिकार प्रयोग गरेर अनुसन्धान गर्न आयोगले पहिले नै भनिसकेको उल्लेख गरे ।
उनका अनुसार फौजदारी कसुरको अनुसन्धान गर्ने काम नेपाल प्रहरीको हो भने आयोगले घटनाको समग्र छानबिन गरी दोषीमाथि अनुसन्धान र कारबाहीका लागि सरकारलाई सिफारिस गर्नेछ । आयोगले उक्त घटनाबाट भएको क्षतिको यथार्थ विवरण संकलन गर्न सरकारी कार्यालय, सर्वोच्च अदालत, संवैधानिक निकाय, उद्योगी-व्यवसायी र सर्वसाधारणबाट विवरण माग गरिरहेको छ ।
उनले क्षतिपूर्तिको दाबी प्राविधिक रूपमा प्रमाणित हुनुपर्नेमा जोड दिए । आन्दोलनका क्रममा लुटिएका हतियार र जेलबाट भागेका कैदीका सम्बन्धमा वर्तमान कानुन अपर्याप्त रहेको बताउँदै अध्यक्ष कार्कीले उक्त विषय समाधानका लागि विशेष अध्यादेश ल्याउन सरकारलाई सुझाव दिएको जानकारी दिए ।
उनले आयोग कुनै पनि व्यक्ति वा पक्षलाई हेरेर नभई निष्पक्ष रूपमा काम गर्न प्रतिबद्ध रहेको र कानुनबमोजिम कारबाही हुनुपर्नेमा जोड दिए । उनले प्रहरीलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउनुपर्ने र घटनासँग सम्बन्धित प्रमाण भए उपलब्ध गराएर सहयोग गर्न सबैलाई अपिल पनि गरे ।























