जेनजी आन्दोलनको आवरणमा आगजनी गरेर ध्वस्त पारिएको सर्वोच्च अदालत ।काठमाडौँ । प्रतिनिधिसभा विघटन र सुशीला कार्की नेतृत्वको सरकारको गठन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा परेका १६ वटा रिट निवेदनमाथि आज (बुधबार) प्रारम्भिक सुनुवाइ हुँदैछ ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत सहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मा रहेका छन्। प्रधानन्यायाधीश राउतले वरिष्ठताको आधारमा इजलास गठन गरेको जनाइएको छ।
यसअघि ५२ संवैधानिक पदाधिकारीहरूको नियुक्तिसम्बन्धी मुद्दामा अल्पमतमा परेपछि प्रधानन्यायाधीश राउतले न्यायाधीश छान्ने प्रस्ताव गरेका थिए। तर, सर्वोच्चका न्यायाधीशहरूको सुझावअनुसार राउतले संविधानमा भएको व्यवस्था बमोजिम बाँकी चार न्यायाधीश छानेर इजलास गठन गरेका हुन्।
जेनजी आन्दोलनपछि अन्तरिम प्रधानमन्त्रीको नियुक्ति, प्रतिनिधिसभा विघटन र सरकार गठनसँग जोडिएका यी रिट निवेदनमा सरकारविरुद्ध अन्तरिम आदेश को माग गरिएको छ। सरकारले निर्वाचनको तयारी थालेको करिब डेढ महिना बितिसकेको र अबको साढे ४ महिनाभित्र निर्वाचनको मिति तोकिएको अवस्था छ।
संवैधानिक इजलासले विषयवस्तुको अत्यावश्यकता र अपूरणीय क्षति बीचको सन्तुलन हेरेर अन्तरिम आदेश जारी गर्ने वा नगर्ने निर्क्योल गर्नेछ। इजलासले अन्तरिम आदेश जारी गर्ने, कारण देखाऊ आदेश मात्रै जारी गर्ने वा छलफलका लागि दुवै पक्षलाई बोलाउने विकल्पहरूमध्ये एकसहितको आदेश जारी गर्न सक्नेछ।



















