चार प्रदेशमा भारी वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह

Share this
784shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १३, बिहीबार ०६:४९

काठमाडौं । देशका केही स्थानमा आज र भोलि भारी वर्षा र हिमपातको सम्भावना रहेको छ ।

देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि ४४ जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । दश  जिल्लामा निरन्तर मौसमबारे जानकारी लिएर बस्न आग्रह गरेको छ ।

प्राधिकरणले आज बिहानदेखि भोलि बिहानसम्म कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा भारी हिमपातको सम्भावना रहेको बताएको छ । ।

कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।

कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, खोटाङ, उदयपुर, सोलुखुम्बु र ओखलढुंगामा सतर्कता अपनाउनु पर्नेछ ।

मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट र सर्लाही, बागमती प्रदेशका मकवानपुर, चितवन, सिन्धुली, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादिङ, नुवाकोट र रसुवामा सतर्क रहनुपर्नेछ ।

गण्डकीमा गोरखा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), मनाङ, मुस्ताङ तथा लुम्बिनी प्रदेशका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु र दाङमा सतर्कता अपनाउन प्राधिकरणको आग्रह छ ।

प्राधिकरणले लमजुङ, कास्की, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ, पर्वत, स्याङ्जा र तनहुँ जिल्लामा मौसम सम्बन्धी जानकारीसहित अद्यावधिक भएर बस्न भनेको छ ।

सम्भावित वर्षा र हिमपातका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायत क्षेत्रमा प्रभाव पर्नसक्ने सम्भावना रहेकोले आवश्यक पूर्वतयारी एवं पूर्वकार्य गर्न प्राधिकरणले निर्देशन दिएको छ ।

अत्यन्त जरुरी नभई सकेसम्म यात्रा नगर्न, डुबान हुनेसक्ने बस्तीका बासिन्दाले अग्लो र सुरक्षित स्थानबारे जानकारी लिने र अरुलाई पनि जानकारी दिन तथा आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जान प्राधिकरणले भनेको छ ।

प्रभावित हुनसक्ने नदी किनाराका बासिन्दा सतर्क भइराख्नुपर्ने र जोखिम देखिए सुरक्षित स्थानमा सर्नुपर्ने, धान तथा अन्य बाली नकाट्ने, काटेको भए तत्काल भित्त्राउन प्राधिकरणले भनेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.