बाढी पहिरोका कारण केही राजमार्गहरू अवरुद्ध

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १३, बिहीबार १३:३५

विराटनगर । बाढी पहिरोले मुलुकका केही मुख्य राजमार्गहरूमा अवरोध पुगेको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार आज (बिहीबार) कोशी राजमार्ग, मेची र वीपी राजमार्ग प्रभावित भएका छन् ।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बंगालको खाडीमा विकसित चक्रवातका कारण कोशी प्रदेशका धेरै स्थानमा अत्यधिक वर्षा भई विपद्जन्य घटना घट्न सक्ने चेतावनी दिएका छन् ।

यसलाई मध्यनजर गर्दै इलाम जिल्लाभित्र मेची राजमार्गमा बिहीबार साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म अर्को सूचना नआएसम्मका लागि रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

सङ्खुवासभाको भोटखोला गाउँपालिकाको बरुणखोलामा कोशी राजमार्ग अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध छ ।

काभ्रेको रोशी गाउँपालिका‘११ अन्तर्गत माम्तीखोला, डालाबेसी, बुल्ढुंगालगायत स्थानहरूमा पहिरो खसेका कारण वीपी राजमार्ग एकतर्फी रूपमा मात्रै सञ्चालनमा आएको छ ।

यसैबीच, रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा बाढीका कारण नेपाल र चीन जोड्ने मितेरी पुल पूर्ण रूपमा अवरुद्ध भएको छ। यो अवरोध मनसुन सक्रिय हुँदा देखिकै हो ।

यातायातमा आएको अवरोधका कारण यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र यात्रा गर्नुअघि अनिवार्य रूपमा सडकको अवस्था बारे जानकारी लिन नेपाल प्रहरीले विशेष अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.