
इलाम । इलामको देउमाई नगरपालिका–१, कुखुरेस्थित मेची राजमार्गमा बोलेरो र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना यात्रु तथा चालक घाइते भएका छन् । तेह्रथुमबाट झापातर्फ जाँदै गरेको मे १ ज ३१३७ नम्बरको बोलेरो र इलामबाट पाँचथरतर्फ जाँदै गरेको प्रदेश १–०१–०१६प १३६७ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल आज (बिहीबार) बिहान करिब १०:३० बजे ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालकसहित बोलेरोमा सवार गरी १० जना घाइते भएका छन् । घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल इलाम पठाइएको इलाम प्रहरीले जनाएको छ ।
घाइतेमध्ये झापा बिर्तामोड–६ की सुशिला तिमल्सिनाको भित्री चोटका कारण बोल्न नसक्ने अवस्था रहेकाले उनको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । अन्य ९ जना घाइतेहरूको अवस्था सामान्य रहेको छ ।
दुर्घटनापछि बोलेरो सडकबाट करिब १० मिटर तल खसेको छ। प्रहरी चौकी रक्सेबाट प्रहरी निरीक्षक रोजन नेम्बाङको कमाण्डमा खटिएको टोलीले बोलेरो चालक तेह्रथुम आठराई गाउँपालिका–२ निवासी २६ वर्षीय रबिन तामाङलाई नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका कारण सडक अवरुद्ध नभएको र बोलेरो निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।























