आन्दोलनका क्रममा बोल्दै गर्दा जिफन्ट उपाध्यक्ष कमल गौतमको निधन

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १३, बिहीबार १४:०२

बुटवल । रूपन्देहीमा उद्योगहरूमा भएको विद्युत् कटौतीको विरोधमा आयोजित कार्यक्रममा सम्बोधन गरिरहेका एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले रूपन्देहीका १३ वटा उद्योगको लाइन काटेपछि सुरु भएको उद्योगीहरूको आन्दोलनमा सहभागी भएका गौतम बिहीबार दिउँसो कार्यक्रममा भाषण गरिरहेका बेला अचानक ढलेका थिए ।

उनलाई तुरुन्तै उपचारका लागि तिलोत्तमा नगरपालिकास्थित मणिग्रामको क्रिमसन अस्पताल पुर्‍याइएको थियो । चिकित्सकहरूले उनलाई मृत घोषणा गरे ।

एमाले रूपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरेले गौतमको मृत्यु भएको पुष्टि गर्दै गौतमले आफ्नो सम्बोधनका क्रममा सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाउँदै श्रमिकहरूलाई एकजुट भएर आन्दोलनमा उत्रिन आह्वान गरिरहेका बेला बेहोस भई ढलेको जानकारी दिए ।

बुटवल उपमहानगरपालिका–३, लक्ष्मीनगर निवासी गौतम लामो समयदेखि जिफन्टको नेतृत्वमा सक्रिय थिए ।

गौतमको शव क्रिमसन अस्पतालमा राखिएको छ । उद्योगी, व्यवसायी र विभिन्न श्रमिक संगठनका प्रतिनिधिहरू अस्पताल परिसरमा उपस्थित छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.