
विराटनगर । झापाको मेचीनगर नगरपालिकास्थित एक वनभित्र बिहीबार बिहान एउटा कार आगलागी भएको अवस्थामा फेला परेको छ ।
चारआली–भद्रपुर सडक खण्डमा पर्ने मेचीनगर नगरपालिका–१२ र १३ नम्बर वडाको सिमानामा रहेको निजा झोडाभित्र कार जलिरहेको अवस्थामा फेला परेको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
बिहान करिब १०ः३० बजेतिर मुख्य सडकमा रहेको निजा झोडाको गेटदेखि करिब २ सय मिटरभित्र कार जलिरहेको खबर प्राप्त हुनासाथ दमकल र प्रहरी टोली घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको थियो ।
प्रहरी पुग्दा कार जलिरहेको अवस्थामा भेटिएको र घटनाको विषयमा हालसम्म केही नखुलेको डीएसपी खड्काले बताए । उनले भने, ‘कार कसको हो, कहाँबाट ल्याएको, कति नम्बरको हो भन्ने कोही खुलेको छैन । घटनाको विषयमा विभिन्न तवरबाट अनुसन्धान भइरहेको छ ।’
प्रहरीले कार आगलागीको घटना अज्ञात रहेको भन्दै यसको रहस्य पत्ता लगाउन गहिरो अनुसन्धान गरिरहेको जनाएको छ ।

























