
जनकपुर । मानव बेचबिखनको जालोमा परेर भारतका विभिन्न सहर पुर्याइएका दुई बालिकासहित १६ जना बालबालिकालाई उद्धार गरी बिहीबार जनकपुरमा परिवारको जिम्मा लगाइएको छ। उद्धार गरिएका बालबालिका ७ देखि १४ वर्ष उमेर समूहका छन् । उनीहरू धनुषा, महोत्तरी, सिरहा, सप्तरी, र रौतहटका हुन्।
सप्तरीका ७ र ९ वर्षका दुई बालकलाई ‘रेल चढाउने’ प्रलोभनमा पारेर भारत लगिएको खुलासा भएको छ। ९ वर्षका बालकले आफ्नो अनुभव सुनाउँदै भने, “बसबाट उत्रिएपछि सिधै रेल्वे स्टेसन लगेको थियो। रेलमा चढ्नेबित्तिकै गुडिहाल्यो। केही मेसो पाइएन।” यसले मधेश प्रदेशको नाका हुँदै बालबालिकालाई झुक्याएर भारततर्फ लैजाने गरिएको भयावह अवस्थालाई उजागर गरेको छ।
उद्धार गरिएका दुई बालिकालाई भने यौनजन्य क्रियाकलापका लागि बेच्न लागिएको अवस्थामा उद्धार गरिएको किग नेपालका नवीन जोशीले बताए। ‘ती दुवै बालिकामाथि पटक–पटक यौन शोषण काम भयो,’ जोशीले भने, ‘बेच्न ठिक पारिएको अवस्थामा उद्धार गर्न सफल भयौंं। एउटी बच्चीको मानसिक स्वास्थ्यमा समस्या देखिएको छ, उनलाई उपचारसँगै परामर्शको पनि आवश्यकता छ।’
जोशीका अनुसार, महिला र बालबालिकालाई भारतमा किड्नी झिक्न, यौनकर्मी, अर्केस्ट्रा र सर्कसजस्ता अत्यन्तै जोखिमपूर्ण र अमानवीय काममा प्रयोग गरिएको पाइएको छ। पछिल्लो समय मधेश प्रदेशकै बालबालिकालाई लक्षित गरी बेचबिखन भइरहेको उनको भनाइ छ।
भारतको नयाँदिल्लीमै बस्ने जोशीले पछिल्लो एक वर्षमा नेपाली दूतावासको सहयोगमा १ हजार जनाको उद्धार गरिएको जानकारी दिए। उनले मानव तस्करहरूले ह्वाट्सएपमार्फत यौन धन्दा चलाउने गरेको डरलाग्दो तथ्य पनि सार्वजनिक गरे।
‘नेपाली महिला र बालिकालाई सुरुमा फ्ल्याटमा राखेर ह्वाट्सएपमार्फत यौन धन्धामा लगाउने गरिएको छ,’ जोशीले भने, ‘तस्बिर पठाउने र एकपटकको ५ हजारदेखि ८ हजारसम्ममा डिल गरेर महिला र बालिका पुर्याउने गरिन्छ। पछि, उनीहरूलाई वेश्यालयमा बेच्ने गर्छन्।’
बालबालिकाको उद्धार, घर फिर्ती र पुनर्स्थापनामा सरकारको सहयोग कम भएको गुनासो भइरहेका बेला मधेश सरकारको खेलकुद तथा समाजकल्याण मन्त्रालयका सचिव रञ्जितकुमार यादवले कानुन भए पनि कार्यान्वयन नहुँदा समस्या बढेको स्वीकार गरे।
सचिव यादवले महिला तथा बालबालिकाको उद्धार र मनोपरामर्शका लागि प्रदेश सरकारले छुट्टै कोष स्थापना गर्ने प्रतिबद्धता जनाए। बालबालिका खोजतलास कार्यालय जनकपुरका प्रमुख सञ्जीव महतोले गतवर्ष मधेश प्रदेशका ६१ जना बालबालिकालाई भारतबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको जानकारी दिए।

























