इलामका असई रमेश चौधरी ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषित

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १३, बिहीबार १८:२४

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले असई रमेशकुमार चौधरीलाई असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ।

इलामको इलाका प्रहरी कार्यालय नयाँ बजारमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) चौधरी असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् ।

विभागले दिएको निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गरेको मूल्यांकनका आधारमा चौधरीलाई उत्कृष्ट घोषित गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

गत असोज १९ गते अविरल वर्षाका कारण बाढी र पहिरो जाँदा चौधरीले इलामको माइजोगमाई गाउँपालिका–६ चाङ क्षेत्रमा तत्काल उद्धार कार्यमा खटिएर पहिरोमा पुरिएका ८ जनाको शव उत्खनन गरी बाहिर निकालेका थिए ।

त्यसैगरी, चौधरीले माइजोगमाई गाउँपालिका–५ र ६ का २ जना सुत्केरी महिला र १ जना सिकिस्त बिरामीलाई हेलीमार्फत उद्धार गर्न सहजीकरण गरेका थिए ।

बाढी पहिरोबाट क्षति पुगेको इलाका प्रहरी कार्यालय नयाँ बजारका लागि चौधरीले स्थानीय समाजसेवीसँग समन्वय गरी ५० हजार रुपैयाँ मूल्य बराबरको फर्निचर र सामाग्री जुटाएका थिए ।

उनले स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायहरूसँग समन्वय गर्दै पहिरोका कारण अवरुद्ध भएका सडकहरूलाई द्रुत गतिमा सञ्चालनमा ल्याउने काममा सक्रिय भूमिका निभाएको प्रहरी कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.