पूर्वी र मध्य नेपालमा लम्बियो झरी

Share this
628shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १५, शनिबार १२:००
सांकेतिक तस्बिर

काठमाडौँ। काठमाडौँसहित देशका मध्य र पूर्वी भूभागमा झरी लम्बिएको छ। यसअघि बागमती, गण्डकी र तराईका जिल्लाहरूमा आज (शनिबार) बिहानसम्म मौसम खुल्ने अनुमान गरिए पनि मौसमी प्रणालीको जटिल मिश्रणका कारण वर्षा लम्बिएको हो। मौसमविद् उज्वल उपाध्यायका अनुसार मौसमी पूर्वानुमानका तीनवटा मोडेलहरूको अध्ययनबाट यी प्रदेशमा झरी लम्बिएको पुष्टि भएको हो।

तीन दिशाबाट जलवाष्पको दबाब

झरी लम्बिनुको मुख्य कारण ‘मोन्था’ आँधी कमजोर भएर सक्रिय रहेको पश्चिमी वायुसँग यसको मिश्रण हुनु हो। यस मिश्रणबाट बनेको ठूलो संयुक्त प्रणाली व्यापक क्षेत्रमा फैलिएको छ। उपाध्यायले बताएअनुसार, यो प्रणाली बंगालको खाडीतर्फ सर्नुपर्ने थियो, तर बंगालको खाडी नजिकै बङ्गलादेशमा अवस्थित नयाँ चक्रवातीय प्रणालीले यसलाई उल्टो दिशा (उत्तर–पश्चिम) तर्फ धकेलेको छ।

यसैबीच, अरब सागरबाट अर्को सक्रिय प्रणाली गुजरात–राजस्थान हुँदै उत्तर–पूर्वतर्फ अगाडि बढिरहेको छ। फलस्वरुप, नेपालमा पश्चिम, दक्षिण र पूर्व तीनै दिशाबाट जलवाष्पयुक्त वायुको दबाब परेको छ। “वर्षा गराउने बादलको ठूलो हिस्सा अहिले गण्डकी, बागमती र कोशी क्षेत्रमा ‘टसमस’ नगरी (नचली) बसेको छ र लगातार वर्षा भइरहेको छ,” मौसमविद् उपाध्यायले भने। हावामा जलवाष्पको मात्रा अत्यधिक भएकाले वर्षा रोकिएको बेला पनि शीत परे जस्तो मसिना पानीका कण झरिरहेको उनको भनाइ छ।

१२ घण्टाभित्र मौसममा सुधार आउने सम्भावना

मौसमविद् उपाध्यायका अनुसार यस्तो जटिल अवस्थामा हल्का झरी मात्र पर्ने र ठूलो वर्षा नहुने भएकाले बाढीको जोखिम अत्यन्त न्यून हुन्छ। धेरै प्रणाली मिसिएकाले यो अवस्था कतिबेर रहन्छ भन्न त्यति सजिलो नभए पनि सुधारको सङ्केत देखिएको छ। उपाध्यायले भने, “बादलको घनत्व घट्ने क्रममा रहेकोले अबको १२ घण्टाभित्र मौसममा उल्लेख्य सुधार आउने सम्भावना छ।” साँझसम्म वर्षा पूर्ण रूपमा रोकिने र भोलि बिहानैदेखि घाम लाग्ने सम्भावना धेरै रहेको उनले बताएका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.