
विराटनगर । गत भदौ २४ गते प्रदर्शनकारीको आगजनीबाट विराटनगरस्थित उच्च अदालतमा भएको भौतिक क्षतिले न्यायिक सेवा प्रभावित बनेको छ ।
अदालतले हाल सामान्य मर्मत र रंगरोगनपछि जलेकै भवनबाट सेवा सञ्चालनमा ल्याएको छ । अपर्याप्त पूर्वाधारले काममा असहजता भने बढाएको छ ।
अदालतका सूचना अधिकारी सन्तोष पोखरेलका अनुसार आगजनीबाट २०१० सालदेखि संरक्षणमा राखिएका सम्पूर्ण अभिलेखहरू पूर्ण रूपमा नष्ट भएका छन् ।
पुराना मुद्दाका इतिहास, नागरिकका जग्गाधनी कागज, नजिर र फैसलासमेत खरानी बनेका छन् । अभिलेख शाखामा रहेका कूल ३ हजार २ सय ३४ मिसिल पूर्ण रूपमा नष्ट भएका छन् ।
प्रारम्भिक मूल्याङ्कन अनुसार आगलागीबाट अदालतको ३ करोड ६५ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ । आगलागीमा परी अदालतका पाँचवटा कार, एक जिप र मोटरसाइकलका साथै मुख्य न्यायाधीशको क्वार्टर, अतिथि गृह र इजलास अधिकृतको कार्यकक्षमा रहेका सम्पत्तिहरू जलेका थिए ।
आगजनीका क्रममा अदालतका धेरै कम्प्युटरहरू चोरी भएकाले समेत अहिले दैनिक कार्य सम्पादन गर्न कठिनाइ भइरहेको छ ।
आगजनीपछि क्षतिग्रस्त भवनलाई सामान्य मर्मत र रङ्गरोगन गरी सेवा थालिएको छ। यद्यपि, ऐतिहासिक अभिलेख नहुँदा अदालतको काम निकै चुनौतीपूर्ण बनेको छ ।

























