विदेशमा रहेका नेपालीको मताधिकारका लागि ऐन संशोधनको तयारी

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १६, आइतबार १२:३१

काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार सुनिश्चित गर्नका लागि विभिन्न ४ वटा निर्वाचनसम्बन्धी ऐनहरू संशोधन गर्ने तयारी गरेको छ । यसका लागि गृह मन्त्रालयले संशोधन प्रस्तावको मस्यौदा नै तयार पारेर निर्वाचन आयोगसँग राय मागेको छ । सरकारले अध्यादेशमार्फत ऐन संशोधन गर्ने तयारी गरिरहेको छ ।

गृहमन्त्रालयले विदेशमा रहेका नेपालीको मताधिकारलाई सुनिश्चित गर्न प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, निर्वाचन आयोग ऐन, मतदाता नामावली ऐन र निर्वाचन कसुर तथा सजाय ऐनमा संशोधनको तयारी गरिएको हो ।

गृह मन्त्रालयका अधिकारीहरूका अनुसार निर्वाचन आयोगबाट राय प्राप्त भएपछि थप छलफल गरेर संशोधनको प्रक्रिया अगाडि बढाइनेछ । गृह मन्त्रालयको कानुन महाशाखाका प्रमुख एवं सहसचिव भरतमणि रिजालले विदेशमा बस्ने नेपाली नागरिकलाई उनीहरू बसेकै देशबाट मत हाल्न दिनेबारे छलफल चलिरहेको बताएका छन् ।

उनका अनुसार मतदाता नामावली सङ्कलनदेखि मतदान केन्द्र व्यवस्थापनसम्मका विषयहरू निर्वाचन आयोगले बनाउने कार्यविधि अनुसार हुनेछन् । गृह मन्त्रालयले तिहारअगाडि नै मस्यौदा पठाए पनि निर्वाचन आयोगले भने राय पठाउन विलम्ब गरेको गुनासो गरेको छ ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले भने आयोग आन्तरिक छलफलमा रहेको र गृह मन्त्रालयमा राय पठाउने तयारी भइरहेको जानकारी दिए। गृहका अधिकारीहरूले भने आयोगबाट छिट्टै राय प्राप्त हुने अपेक्षा राखेका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.