कोशी सरकारद्वारा ३९ अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १६, आइतबार १३:३८

विराटनगर । कोशी प्रदेश सरकारले सार्वजनिक सेवामा मितव्ययिता अपनाउँदै अनावश्यक संरचना र दरबन्दी घटाउने संघीय सरकारको परिपत्रलाई बेवास्ता गर्दै ३९ जना अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले गत असोज ५ गते सार्वजनिक सेवा चुस्त, छरितो र मितव्ययी बनाउन अनावश्यक दरबन्दी कटौती गर्न परिपत्र गरेको थियो । तर आइतबार बिहान बसेको कोशी प्रदेश मन्त्रीपरिषद् बैठकले भने पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहतका चारवटा कार्यालयका लागि उक्त अस्थायी दरबन्दी स्वीकृत गरेको हो ।

पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा दरबन्दी स्वीकृत गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।

कुन कार्यालयमा कति दरबन्दी?

पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटाका अनुसार पर्यटन विकास आयोजना विराटनगर, पर्यटन कार्यालय धरान र काँकडभिट्टा र जलाधार व्यवस्थापन कार्यक्रम कार्यान्वयन इकाई विराटनगरको दरबन्दी स्वीकृत भएको छ।

पर्यटन विकास आयोजना, विराटनगर: १५ जना

पर्यटन कार्यालय, धरान: ७ जना

पर्यटन कार्यालय, काँकडभिट्टा: ७ जना

जलाधार व्यवस्थापन कार्यक्रम कार्यान्वयन इकाई, विराटनगर: १० जना

कुल दरबन्दी: ३९ जना

मन्त्रालयका प्रशासन महाशाखा प्रमुख विजय राईका अनुसार स्वीकृत दरबन्दी कार्यालय सहयोगीदेखि नवौं तहसम्मका कर्मचारीका लागि हो। यी कार्यालयहरूमा कार्यालय प्रमुख र लेखा लगायत केही प्राविधिक पदमा स्थायी कर्मचारी रहने र बाँकी जनशक्ति अस्थायी दरबन्दीबाट पूर्ति हुँदै आएको छ।

प्रमुख सचिव चन्द्रकला पौडेलका अनुसार यो दरबन्दी प्रदेशको स्वीकृत दरबन्दी अनुसार कार्यरत कर्मचारीको नियुक्तिका लागि मात्रै स्वीकृत गरिएको हो। उनले संघको परिपत्र आए पनि यी कार्यालयहरू अति आवश्यक भएका कारण दरबन्दी स्वीकृत गर्नुपरेको बताइन्।

‘कार्यालयहरू सञ्चालनमा छन्, यो अघिल्लो वर्षकै दरबन्दी हो,’ उनले भनिन्, ‘केही नयाँ थप गरिएको होइन, गत वर्ष भएकैको निरन्तरता हो ।’ उनका अनुसार प्रदेशमा दरबन्दी अनुसार काम गर्ने पर्याप्त जनशक्ति नभएका कारण यो निर्णय गरिएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.